२३ बैशाख २०८२, मंगलवार

नयाँ सरकार गठनको प्रक्रिया शुरु, कुन दलको, को नेताको नेतृत्वमा सरकार बन्छ भन्ने स्पष्ट छैन

Bidhya Devi Bhandari

निर्वाचन आयोगले निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै नयाँ सरकार गठनको प्रकृया सुरु भएको छ । तर, सरकार कुन दलको, को नेताको नेतृत्वमा बन्छ भन्ने स्पष्ट भइसकेको छैन । नयाँ सरकार संविधानको धारा ७६ को (२) अनुसार दुई वा दुईभन्दा बढी दलको बन्ने चाहिँ निश्चित छ । नयाँ सरकार कहिलेसम्म बन्ला त ?

निर्वाचन आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाएसँगै संसदीय प्रक्रिया सुरु हुन्छ । अब शीतल निवासले संघीय संसद सचिवालयलाई नवनिर्वाचित सांसदको विवरण पठाएपछि सरकारले मिति तोक्दै प्रतिनिधिसभा बैठक आव्हान गर्न राष्ट्रपतिलाई सिफारिस गर्छ । र, राष्ट्रपतिले संविधानको धारा ९३ अनुसार अन्तिम निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसदको अधिवेशन आव्हान गर्नेछिन् । ढिलोमा पुस २९ भित्र संसदको पहिलो बैठक बस्ने छ ।

संसद बैठकमा जानुअघि नै संविधानको धारा ८८ र संघीय कानूनअनुसार नवनिर्वाचित सांसदको सपथ गराउनुपर्छ । निर्वाचित भएर आएका ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट लिएपछि उनले अन्य सदस्यलाई पद तथा गोपनीयताको सपथ गराउने छन् । यसपटक जेष्ठ सदस्यका रुपमा राप्रपाका ८१ वर्षीय पशुपतिशम्सेर राणाले सांसदहरुलाई सपथ गराउने छन् ।

प्रधानमन्त्री नियुक्ति पहिला कि संसद बैठक भन्ने चाहिँ स्पष्ट भइसकेको छैन् । २०७४ सालमा सरकार बनेपछि मात्रै संसद बैठक बसेको थियो ।

संसद्ले सरकार बनाउने र सरकारमाथि संसद्कै नियन्त्रण हुने भएकाले सांसदको सपथपछि मात्र प्रधानमन्त्री नियुक्ति गरेर अघिल्लोपटकको गल्ती सच्याउनु पर्ने केही संविधानविद्ले बताउँदै आएका छन् ।

संसद बैठक आह्वान भएपछि राष्ट्रपतिबाट नयाँ सरकारको लागि आह्वान गर्ने कानूनी व्यवस्था छ । संविधानको धारा ७६ को उपधारा (१) मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । तर, अहिलेको निर्वाचनमा कुनै पनि दलको एकल बहुमत नआएकाले सो धाराअनुसारको सरकार बन्ने संभावना छैन ।

संविधानको धारा ७६ (२) अनुसार एक दलको बहुमत नआएको अवस्थामा दुई वा दुईभन्दा बढि दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रतिनिधिसभाका सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

संविधानको यही धारालाई टेकेर राजनीतिक दलहरु सरकार बनाउने गृहकार्यमा जुटेका छन् । र, प्रक्रियाअनुसार ढिलोमा पुस पहिलो साता मुलुकले नयाँ प्रधानमन्त्री पाउने छ ।

संविधानको धारा ९१ (१)अनुसार प्रतिनिधिसभाको पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख चयन गर्नुपर्छ ।

मुलुकको कार्यकारी प्रमुखसहित विभिन्न पदमा नयाँ निर्वाचन गर्नुपरे पनि कुन दलको, कुन पदमा, को आउलान् भन्ने स्पष्ट भइसकेको छैन । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखलगायत विशिष्ठ पदाधिकारीको चयन सत्तारुढ गठबन्धनको एकता र निरन्तरतामा पनि भरपर्ने देखिन्छ ।