१ जेष्ठ २०८१, मंगलवार

निर्वाचन आयोगले आज अन्तिम चुनावी नतिजा सार्वजनिक गर्ने

nirbachan aayog nepal

निर्वाचन आयोगले ४ मङ्सिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणाम आज घोषणा गर्ने भएको छ ।

आयोगको समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले दलहरूबाट समानुपातिकतर्फ निर्वाचित हुने प्रतिनिधि सभाका १ सय १० र प्रदेश सभाका २ सय २० उम्मेदवारको नामावली प्राप्त भइसकेकाले उनीहरूलाई निर्वाचित गरेर अन्तिम परिणाम घोषणा गर्न लागेको जानकारी दिनुभयो ।

समानुपातिकतर्फ सबै दलको नामावली बन्दसूचीको क्लस्टर र प्राथमिकता क्रमअनुसार प्राप्त भएपछि आयोगले आज अन्तिम परिणाम घोषणा गर्न लागेको प्रवक्ता वाग्लेले बताउनुभयो । प्रत्यक्षतर्फ भने गणना सकिएलगत्तै मुख्य निर्वाचन अधिकृतले निर्वाचन क्षेत्रमै निर्वाचित गरेर प्रमाणपत्र दिइसकेका छन् ।

समानुपातिकतर्फका निर्वाचित सदस्यहरूलाई मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रमाणपत्र प्रदान गर्नेछन् । अन्तिम परिणाम घोषणा गर्न आयोगले आज दिउँसो साढे १ बजे पत्रकार सम्मेलन गर्दैछ ।

भोलि राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने कार्यक्रम रहेको छ भने भोलि नै समानुपातिक तर्फका सांसदहरूलाई प्रमाणपत्र वितरण गरिने छ । अन्तिम परिणाम घोषणासँगै नयाँ सरकार गठनको औचापरिक बाटोसमेत खुल्नेछ । संविधानको धारा ७६ (३) मा ३० दिनभित्र नयाँ सरकार बन्नुपर्ने व्यवस्था छ ।

आयोगले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार अहिले कुनै दलको बहुमत नआएकाले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको गठबन्धन सरकार बन्ने देखिन्छ । बहुमत पुगेको कुनै पार्टीको संसदीय दलको नेताले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी पेस गर्नुपर्छ ।

राष्ट्रपतिले नियुक्त गरिसकेपछि प्रधानमन्त्रीले एक महिनाभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्छ । विश्वासको मत पाएपछि दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने संवैधानिक व्यवस्था छ ।

    सम्बन्धित समाचार...