१ जेष्ठ २०८१, मंगलवार

कांग्रेस संसदीय दलको नेता बन्न ‘डोर टु डोर’ दौडधुप

5 nata congress

प्रतिनिधिसभामा ८९ सिट जितेको नेपाली कांग्रेसभित्र संसदीय दलको नेताका लागि दौडधुप तीव्र बनेको छ । दलको नेता छान्ने प्रक्रियामा ८९ जनै प्रतिनिधिसभा सदस्यले सहभागी हुन पाउनेछन् ।

प्रतिनिधिसभा निर्वाचन अन्तिम परिणाम सार्वजनिक भएसँगै दलको नेताका लागि कांग्रेसभित्र बढेको दौडधुपमा सभापति शेरबहादुर देउवादेखि महामन्त्री गगन थापासम्म छन् ।

यो दौडमा रामचन्द्र पौडेल र प्रकाशमान सिंहसमेत ‘आकांक्षी’ देखिएका छन् । तर, मुख्य प्रतिस्पर्धा देउवा र थापाबीचमै हुने अवस्था बढेको छ । कांग्रेस पूर्वमहामन्त्री शशांक कोइराला भने यो दौडधुपबाट ‘ब्याक’ भइसकेका छन् । उनले मंगलबार सभापति देउवालाई भेटेरै सघाउने यस्तो ‘संकेत’ गरेको बताइन्छ ।

देउवासँग १४औं महाधिवेशमा प्रतिस्पर्धी बनेका डा शेखर कोइराला भने ‘दलको नेता तथा आगामी प्रधानमन्त्री’ विषयमा मौन छन् । प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले आफूनिकटका नेतामार्फत दलको नेताका लागि बालुवाटारबाटै ‘लबिङ’ गरिरहेका छन् । उनले केही शीर्षनेतालाई बालुवाटारमै बोलाएरै ‘इच्छा’ देखाएका छन् ।

प्रवक्ता डा प्रकाशशरण महतलाई समेत ‘लबिङ’मा खटाइएको छ भने कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधि पनि ‘देउवालाई दलको नेता बनाउन मुख खोलेरै’ अघि बढिरहेका छन् । दल नेताका लागि महामन्त्री थापाले भने ‘डोर टु डोर’ भेटघाट गरिरहेका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित समाचार...