२४ बैशाख २०८१, सोमबार

रघुनाथको ‘चिलगाडी’ उडाउने जिम्मा गुरुङलाई

318609033 822348712352662 2672712573168909397 n

फिल्म ‘चिलगाडी’ निर्देशनको जिम्मा ‘मन्त्र’का निर्देशक खिलबहादुर गुरुङले पाएका छन् ।

बिहीवार रंग पत्रकार रहेका सापकोटा र निर्देशक गुरुङबीच कागजी सम्झौता भएको हो । दुई वर्षअघि घोषणा भएको पनि ‘चिलगाडी’ कोभिडका कारण निर्माण हुन सकेको थिएन । निर्धारित समयमा छायाँकनमा जान नसकिएको बताउँदै अब भने फिल्मको छायांकन सुरु गर्ने तयारी रहेको निर्माता रघुनाथ सापकोटाले जुटेको जानकारी दिए । 

फिल्मको घोषणा हुँदा निर्देशकमा जनकदीप पराजुली थिए । तर, उनले आफ्नो कार्यव्यस्तताका कारण नभ्याउने भएपछि ‘चिलगाडी’ उडाउने जिम्मा फिल्म ‘मन्त्र’का निर्देशक खिलबहादुर गुरुङले पाएका हुन् ।

पेशाले रंग पत्रकार रहेका सापकोटाले गुरुङको फिल्म ‘मन्त्र’ रिलिजको बेला मिडिया को-अर्डिनेटरको रुपमा ठूलो सहयोग गरेका थिए । यही फिल्मबाट उनीहरुबीच राम्रो सम्बन्ध कायम भएको थियो । अन्ततः उनै गुरुङलाई सापकोटाले आफ्नो दोस्रो फिचर फिल्मको निर्देशन गर्ने जिम्मेवारी सुम्पिएका छन् ।

निर्देशक फाइनल भएसँगै अब कलाकार छनोटको कार्य सुरु हुने निर्माता रघुनाथले जानकारी दिए । फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । सापकोटा र गुरुङबीच कागजी सम्झौता भएसँगै माग १५ बाट फिल्म छायांकन सुरु गर्ने तयारी रहेको छ ।

फिल्मलाई सागर प्रधानले खिच्नेछन् भने अर्जुन पोखरेलको गीतमा संगीत रहनेछ । सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुन लागेको फिल्म हास्य प्रधान हुने निर्देशक गुरुङ बताउँछन् ।

‘चिलगाडी’ले युवापुस्ताको प्रतिनिधित्व गर्दै महत्त्वपूर्ण सन्देश दिने निर्माता सापकोटाको भनाई छ । नेपाली समाजको कहालीलाग्दो तथा यथार्थ पाटोलाई फिल्मले सशक्त रुपमा प्रस्तुत गर्ने उनी बताउँछन् ।

यो फिल्म सापकोटाको प्रोडक्सन हाउस सेलिब्रेटी नेपालको ब्यानरमा निर्माण हुन लागेको हो ।

    सम्बन्धित समाचार...