१३ बैशाख २०८१, बिहीबार

सप्तरीमा दुई पक्षबीच झडप हुँदा १५ घाइते, ८ राउण्ड हवाई फायर

hawai fire

बुधबार बिहान सप्तरीको छिन्नमस्ता गाउँपालिकामा दुई पक्षबीच झडप हुँदा एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

जग्गा सम्बन्धी विवादमा स्थानीय दुई पक्षबीच भएको झडपमा दुवै पक्षले एकअर्कामाथि घरेलु हतियार प्रहार गरेका थिए। वादमा दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।

झडपको क्रममा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता तिलक भारतीले नेपाल घटनालाई जानकारी दिए ।

झडप नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड हवाई फायरसमेत गर्नु परेको थियो। स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले ४ र सशस्त्र प्रहरीले ४ गरी ८ राउण्ड हवाई फायर गर्नुपरेको डीएसपी भारतीले बताए । सशस्त्र प्रहरीका प्रवक्ता प्रविण कुमार श्रेष्ठले स्थिति नियन्त्रण गर्न सशस्त्रले ४ राउण्ड हवाई फायर गर्नुपरेको पुष्टि गरे ।

दुवै पक्षले एक अर्कामाथि घरेलु हतियार, खुर्पा, कोदालो, लठ्ठी, गैचीलगायतले आक्रमण गरेका थिए । स्थिति नियन्त्रणमा आइसकेको र घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर एक सयभन्दा बढी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार झडपमा घाइते भएकाहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।