१४ बैशाख २०८१, शुक्रबार

कैलालीका ५ संक्रमितलाई अस्पतालले भर्ना गरेन- राखियो मन्दिरमा

seti hospital

सरकारले कोरोना संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्ने बताइरहेका बेला कैलालीका पाँच संक्रमितले भने अस्पतालमा भर्ना नै पाएका छैनन् ।

कैलालीको गौरिगंगा नगरपालिकाका ५ जना कोरोना संक्रमितलाई सेती प्रादेशिक अस्पतालले भर्ना नगरी फिर्ता गरिदिएको छ । सुदूरपश्‍चिम प्रदेशको एकमात्र कोभिड-१९ डेडिकेट अस्पतालमा आइसोलेसन वार्डको अभाव हुँदा कोरोना संक्रमितको मन्दिरमा बास भएको छ।

मंगलबार राति अस्पताल पुर्याइएका ५ जनालाई आइसोलेसन वार्ड अभाव भएको भन्दै अस्पतालले भर्ना नगरेको गौरिगंगा नगरपालिकाका प्रमुख भिम देउवाले बताए ।

अस्पतालले भर्ना नलिएपछि फर्काइएका संक्रमितलाई कैलालीको गौरीगंगा नगरपालिकाले स्थानीय एक मन्दिरको कोठा (हल) मा राखेको छ । ‘अस्पतालले फिर्ता गरेपछि हामीले उहाँहरुलाई मन्दिरको हलमा व्यवस्थापन गरेका छौँ,’ नगर प्रमुख देउवाले भने, ‘अब के गर्ने भन्ने विषयमा छलफल हुँदै छ ।’

मंगलबार नै गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टिनमा रहेका १९, २०, २४, २८ र ३२ वर्षीय पुरुषहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये २ जनालाई स्वास्थ्यमा समस्या देखिएको र अन्य ३ जना सामान्य रहेको देउवाले बताए ।

कोरोना संक्रमण पुष्टि भइसक्दा पनि अस्पतालले भर्ना नलिएपछि समस्यामा परेको उनी बताउँछन् । स्थानीय तहले नै आइसोलेसन वार्ड बनाएर उनीहरुलाई राख्ने तयारीमा जुटेको मेयर देउवाले बताए ।

सेती प्रादेशिक अस्पतालले भने शैया अभावका कारण संक्रमितलाई राख्न नसकेको बताएको छ । ‘अस्पतालमा २४ शैयाको आइसोलेसन छ । हामीकहाँ २५ जना बिरामी भइसके । त्यसैले थप ५ जनालाई राख्न नसकेर फर्काएका हौँ,’ अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले भने ।

उनले स्थानीय तहले अस्पतालसँग समन्वय नगरेर संक्रमितलाई ल्याएको बताए ।