६ बैशाख २०८१, बिहीबार

संरचना नबन्दै बुटवलबाट प्रदेश राजधानी नसार्न माग गर्दै कांग्रेसले बुझायो ज्ञापनपत्र

newskarkahna news415630

नेपाली कांग्रेस रुपन्देहीले प्रदेशको स्थायी संरचना नबन्दै राजधानी दाङमा सार्न लागेको भन्दै मुख्यमन्त्री कार्यालय बुटवलमा ज्ञापनपत्र बुझाएको छ ।

काम चलाउ सरकारले कर्मचारी आवास, प्रदेशसभाका सांसद बस्ने पूर्वाधार नभएको स्थानमा जबर्जस्ती मन्त्रालय लैजाँदा प्रतिकूल असर पर्ने भन्दै राजधानी हतारमा नसार्न माग गरेको हो ।

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री कार्यालयका कार्यवाहक सचिवलाई ज्ञापनपत्र बुझाउँदै राजधानी सार्न हतार नगर्न भनिएको हो ।

पूर्वाधार बिना राजधानी सार्ने भन्दा पनि भौतिक पूर्वाधार निर्माणमा ध्यान दिन र नवनिर्वाचित प्रदेशसभाबाट बन्ने सरकारलाई कार्यभार सुम्पिन कांग्रेसको आग्रह छ ।

राजधानी दाङमा तत्काल नसार्न एमालेको माग

नेकपा एमाले रुपन्देहीले लुम्बिनी प्रदेश राजधानी दाङमा तत्काल नसार्न आग्रह गरेको छ ।

हाल बुटवल रहेको राजधानी दाङको भालुवाङ सार्न लागिएकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको एमालेले विनापूर्वाधार राजधानी तत्काल दाङ नसार्न भनेको हो ।

सस्तो लोकप्रिययताका लागि भालुवाङ राजधानी सार्न थालिएको आरोप लगाउँदै एमालेले तत्काल राजधानी सार्ने काम रोक्न आग्रह गरेको छ ।

एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले आइतबार विज्ञप्ति जारी गरेर राजधानी सार्ने काम रोक्न आग्रह गर्नुभएको हो । राजधानी भालुवाङ सार्ने तयारी स्वरुप सरकारले बुटवलबाट विभिन्न कार्यालयहरू सार्न थालेपछि एमालेले आपत्ति जनाएको हो ।

प्रदेशसभा नयाँ जनप्रतिनिधि निर्वाचित भइसकेको अवस्थामा अहिले राजधानी सार्ने काम उचित नभएको भन्दै एमालेले प्रदेशमा बन्ने नयाँ सरकारले यसबारे काम गर्नुपर्ने जिकीर गरेको छ ।