२३ बैशाख २०८१, आईतवार

मन्त्री बन्ने, कमाउने र परिवार बन्ने सोंचबाट माथि उठ्न नसक्दा देशको दुर्गति भयो : नेता भण्डारी

newskarkahna news414560

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले राजनीतिमा उमेरको कुनै अर्थ नहुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै काँग्रेस नेता भण्डारीले उमेरको युवाले मात्र देश नसुध्रने भन्दै उहाँले सोंच, व्यवहार र जिम्मेवारी सबैभन्दा महत्वपूर्ण हुने बताउनुभयो ।

अमेरिकी राष्ट्रपति जो वाइडेन उमेरले वृद्ध भएपनि देश विकसित भएको, तर युक्रेनका राष्ट्रपनि भोलोदिमिर जेलेन्स्की उमेरले युवा भएपनि देश तहसनहस भएको उदाहरण दिंदै उहाँले राजनीति र देश विकासमा उमेरले कुनै प्रभाव नपार्ने बताउनुभएको हो ।

देशले पुरानो अनुहारको निरन्तरता होइन, नयाँ अनुहार खोजेको उहाँको भनाइ थियो । “देशले उमेरमा युवा खोजेको होइन, नयाँ अनुहार खोजेको हो, ३० वर्षसम्म एउटै अनुहारले मुलुकलाई विकासको गति दिन सकेन”–भण्डारीले बताउनुभयो ।

पञ्चायतले ३० वर्ष शासन गरेको र बहुदल आएपछिका ३० वर्ष अहिलेकै अनुहारबाट शासन सञ्चालन भैरहेको भन्दै भण्डारीले अव उही पुरानै अनुहारले दृष्टिकोण भएर मुलुक नचल्ने जिकिर गर्नुभयो ।

सरकारको नेतृत्वबारे सोधिएको प्रश्नमा काँग्रेस नेता भण्डारीले नयाँ नेतृत्वको विकल्पका बारेमा पार्टीका नेताहरुसँग छलफल गरेपछि मात्र टुंगोमा पुगिने बताउनुभयो ।

राजनीतिक दलहरु जनतामा पुग्न नसकेकाले अहिले विकल्पको खोजी भएको भन्दै भण्डारीले अहिले पनि जनताको मन जित्न होइन मत किन्न खोज्ने प्रवृत्ति विद्यमान रहेको औंल्याउनुभयो । “गरीबलाई किन्न खोज्ने प्रवृत्ति बढेको छ, जनताको मन जितेर मत ल्याउने होइन, रक्सी र मासुमा भोट किनबेच हुन्छ”,उहाँले भन्नुभयो–“नेताहरु मन्त्री बन्ने, कमाउने र परिवार बन्ने सोंचबाट माथि उठ्न नसक्दा यो अवस्था आयो ।” मुलुकको सबैभन्दा ठूलो रोग भ्रष्ट्राचार रहेको भन्दै भण्डारीले यसलाई निको पार्ने योग्य डाक्टर आफूहरु नै रहेको दावी गर्नुभयो ।

    सम्बन्धित समाचार...