
सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पाँच वर्ष जनताको लागि काम गर्ने बताउनुभएको छ ।
सुनसरीको हरिनगर गाउँपालिकामा विजय उत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले जनताको विश्वासलाई कायम गर्दै आगामी पाँच वर्षमा जनताको लागि काम गर्ने बताउनुभयो ।
विगतमा भएका कमी कमजोरीहरूलाई सच्याउँदै अगाडी बढ्ने समेत उहाँले बताउनुभयो । जनताले विश्वास गरेर दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराएको हुँदा जनताको चाहना र आवश्यकतालाई पूरा गर्ने जिम्मेवारी काँधमा आएको उहाँले बताउनुभयो । विकासको गतिलाई तीव्र रुपमा अगाडि बढाउने गरि कामलाई अघि सार्ने उहाँले जानकारी दिनुभयो ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ का मतदाताहरूलाई मन्त्री कार्कीले आभार समेत प्रकट गर्नुभएको छ । हरिनगर, भोक्राहा नरसिंह गाउँपालिका र इनरुवा नगरपालिका लगायतका आफ्नो निर्वाचन क्षेत्रमा पुग्नुभएका मन्त्री कार्कीलाई मतदाताहरूले स्वागत तथा सम्मान गर्नुभएको थियो ।