२४ बैशाख २०८१, सोमबार

५७ वर्ष पुगेका शाहरुख एक्सन फिल्म गर्न चाहन्छन्

shahrukh khan

‘रोमान्स किंग’को रुपमा प्रख्यात छन्, सुपरस्टार शाहरुख खान । पर्दामा उनले हिरोइनसँग गर्ने रोमान्स शैली अन्य नायकको भन्दा पृथक हुन्छ । उनले आफ्नो करिअरमा रोमान्सवाला फिल्म नै बढी गरेका छन् । तर, अब उनलाई हलिउडको ‘मिशन इम्पोसिबल’ जस्तो एक्सन फिल्ममा काम गर्न मन छ । फिल्म ‘पठान’मा काम गरेपछि उनको ध्यान अब लभस्टोरीभन्दा एक्सन फिल्ममा छ ।

हालै एक अन्तर्वार्तामा शाहरुखले भनेका छन्, ‘मैले अहिलेसम्म एक्सन फिल्ममा काम गरेको छैन । मैले लभस्टोरी फिल्म नै बढी गरेको छु । भिलेन भएको केही फिल्ममा काम गरेको त गरेको छु तर आजसम्म एक्सन फिल्ममा मलाई कसैले लिएको थिएन । अहिले म ५७ वर्षको छु र मैले सोचेको छु कि अबको केही वर्ष एक्सन फिल्म गर्छु । म भरपुर एक्सन फिल्ममा काम गर्न चाहन्छु ।’

शाहरुख स्टारर फिल्म ‘पठान’ २५ जनवरी २०२३ मा रिलिज हुँदैछ । फिल्ममा जोन अब्राहम र दीपिका पादुकोणको पनि अभिनय छ । ‘वार’ र ‘ब्यांग ब्यांग’ जस्ता फिल्म बनाएका सिद्धार्थ आनन्दद्वारा निर्देशित फिल्ममा जोन भिलेनको रुपमा छन् । ट्रेलरमा शाहरुख धमाकेदार एक्सन गर्दै देखिएका छन् । ट्रेलरमा देखिएको एक्सन सिनले नै फिल्मलाई दर्शकमाझ प्रतिक्षीत बनाएको छ ।