१६ चैत्र २०८०, शुक्रबार

रुकुमको चौरजहारी घटनापछि भेरी नदीमा बेपत्ता भएका ६ जनाकै शव भेटियो

rukum

रुकुमको चौरजहारी घटनापछि भेरी नदीमा बेपत्ता भएकामध्ये थप एक युवकको शव फेला परेको छ। योसँगै सो घटनामा परी मृत्यु भएका ६ जनाकै शव भेटिएको हो।

रुकुम पश्चिमको चौरजहारीमा अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा भएको घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । मंगलबार थप एक जनाको शव फेला परेसँगै बेपत्ता भएका ६ जनाकै शव भेटिएको हो ।

चौरजहारी नगरपालिका–८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका भेरी नगरपालिका–११ का १८ वर्षीय गोविन्द शाहीको शव मंगलबार फेला परेसँगै मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

मंगलबार भेरी नगरपालिका ११ का गोविन्द शाहीको शव भेटिएको हो । जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार शाहीको शव भेरी नगरपालिका–१२ स्थित भेरी नदीमा स्थानीयले फेला पारेको हाे । उनी घटना भएकै दिन जेठ १० गतेदेखि बेपत्ता थिए ।

भेरी नगरपालिका ४ का नवराज विकको प्रेमिकालाई ल्याउन रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गएको बेला भएको घटनामा ६ जनाले ज्यान गुमाएका हुन् ।

उनीसँगै भेरी नदीमा हामफालेका सञ्जु विक, लोकेन्द्र सुनार, नवराज विक, गणेश बुढा र टीकाराम सुनारको शव यसअघि नै भेरी नदीमा फेला परेको थियो ।

घटनाबारे सत्य, तथ्य र निष्पक्ष छानविन गर्न सरकारले गठन गरेको उच्चस्तरीय समितिले घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ ।

गाउँमा हुल बाँधेर खराब नियतका साथ आएकाहरुलाई प्रहरीमा बुझाउने गरी समात्न खोजेको उनीहरुले बताएका छन् । मृतकका आफन्तले भने गाउँलेले ढुङ्गामुढाले हानेर मारेको आरोप लगाएका छन् ।

जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय युवक नवराज विक र छिमेकी जिल्ला पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी एक किशोरीबीच प्रेम बसेको थियो।

तल्लो जातको केटा भएको भन्दै केटीका परिवारले उनीहरूको विवाह अस्वीकार गरेपछि १९ जना युवा‚ केटीलाई लिन केटीको गाउँ गएपछि स्थानीयले घेरा हालेर लखेटेका थिए। सो क्रममा नवराज विकसहित चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढा, लोकेन्द्र सुनारको शव भेरी नदीमा भेटिएको थियो।

मृतकका आफन्तजनले घटनामा संलग्न २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । घटनामा संलग्न रहेको आशंकामा १८ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।