
सौर्यमण्डलको रातो ग्रह मंगलमा कुनै बेला सागर रहेको पछिल्लो अध्ययनले देखाएको छ ।
युनिभर्सिटी अफ कोपनहेगनले केही दिनअघि प्रकाशित गरेको अध्ययनले मंगलमा सागर रहेको हुन सक्ने देखाएको हो ।
अध्ययअनुसार साढ चार अर्ब वर्षपहिले मंगल ग्रहमा ३०० मिटर गहिरो (एक हजार फिट) सागर थियो ।
‘त्यस समयमा मंगल ग्रहमा बरफले भरिएको क्षुद्रग्रहको बाढी थियो । यो मंगल ग्रहको विकासको पहिलो १० करोड वर्षमा भएको थियो ।
अर्को रोचक पक्ष के छ भने क्षुद्रग्रहहरूले जैविक अणुहरू पनि बोकेका छन्, जुन जीवनका लागि जैविक रूपमा महत्त्वपूर्ण छन्’, सेन्टर फर स्टार एण्ड प्लानेट फर्मेसनको एक विज्ञप्तिमा प्राध्यापक मार्टिन बिजारोले भने ।
पछिल्लो अनुसन्धानअनुसार मंगलका प्राचीन महासागरहरू कम्तीमा ३०० मिटर गहिरा थिए । ती बढीमा एक किलोमिटर गहिरासम्म हुन सक्छन् । बिजारोका अनुसार वास्तवमा पृथ्वीमा त्यति पानी छैन ।
उनले अगाडि थपे, ‘यो सब मंगल ग्रहको पहिलो १० करोड वर्षभित्र भएको थियो । यो अवधिपछि पृथ्वीमा सम्भावित जीवनका लागि केही विपत् भएको हुनुपर्छ ।
पृथ्वी र मंगलको बीचमा मंगलजत्रै अर्को ग्रह पृथ्वीसँग ठोक्किन आइपुगेको विश्वास गरिन्छ । यही ठक्करले पृथ्वी–चन्द्र प्रणालीलाई आकार दिएको मानिन्छ ।’ वैज्ञानिकहरूले मंगल ग्रहमा पृथ्वीमा भन्दा पनि पहिले नै जीवनका लागि अनुकूल अवस्था थियो भन्ने ठोस प्रमाण पाएका छन् ।
बरफयुक्त क्षुद्रग्रहहरूले मंगल ग्रहमा पानीको अतिरिक्त एमिनो एसिड जस्ता जैविक रूपमा महत्वपूर्ण यौगिकहरू पनि आफूसँगै लगेको अध्ययनमा जनाइएको छ ।
अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार मंगल ग्रहको औसत तापक्रम माइनस ८० डिग्री फरेनहाइट छ ।