१५ चैत्र २०८०, बिहीबार

मिचिएको भूमि फिर्ता गर्न माग गर्दै, तीन बुँदे माग सहित डाक्टर केसीले सुरू गरे सत्याग्रह

1591074178gkc2

डा गोविन्द केसीले दुई दिन सत्याग्रहमा बस्ने भएका छन्। यसपटकको सत्याग्रह दार्चुला सदरमुकाम खलंगामा हुने छ। यो उनको १८औं सत्याग्रह हो।

डाक्टर गोविन्द केसीले मिचिएको भूमि फिर्ता लिन माग गर्दै दुई दिने सत्याग्रह सुरू गरेका छन्। मंगलबार विहान १० बजे दार्चुलामा केसीले सत्याग्रह सुरू गरेका हुन्। उनले स्वास्थ्य, शिक्षा र रोजगारीलगायतका माग पनि उठाएका छन्।

सीमाञ्चलका नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका लागि सत्याग्रह सुरु गर्न लागिएको बताइएको छ।

यसअघिका केही माग सरकारले पूरा गरेको उल्लेख गर्दै केसीले धेरै मागमा सम्झौता भए पनि त्यसको उल्लंघन भइरहेको विज्ञप्ति निकालेर उल्लेख गरेका छन्।

उनले सीमाक्षेत्रका मानिस जीवनजल नपाएर छट्पटिएको, दुई छाक जोड्नका लागि विदेशिएर हेपिँदा र ठगिंदा, फर्कने क्रममा लुटिँदा राज्यका हर्ताकर्ताहरुलाई केही फरक नपरेको पनि बताएका छन्।

‘वास्तवमै राष्ट्रियता बलियो पार्ने हो र देशको सीमा रक्षा गर्ने हो भने काठमाडौंका सडकमा नारा लगाएर वा बालुवाटार दरबारबाट हुंकार गरेर पुग्दैन,’ केसीले भनेका छन्।

यस्ता छन् माग:

१. दार्चुला तथा अन्य सीमा क्षेत्रका लगायत देशभरीका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गरियोस्।

२. भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल शुरु गरियोस्।

३. गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाइयोस्, गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याइयोस् तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गरियोस्।

साथै विगतका सत्याग्रहका मागहरु पुरा गर्न र हामी सित अगाडि भएका सबै सम्झौता कार्यान्वयन गरियोस्।

    सम्बन्धित समाचार...