७ बैशाख २०८१, शुक्रबार

पार्टी एकताको गृहकार्यमा प्रचण्ड र माधव नेपाल

prachanda madav
फाइल फोटो

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच एकताको गृहकार्य थालिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकताको लागि माधव नेपालसँग प्रस्ताव राखेका छन् ।

हिजो (मंगलबार) बसेको एकीकृत समाजवादीको सचिवालय बैठकमा पनि एमालेबाहेकका कम्युनिष्टहरुबीच एकता गर्ने निर्णय भएको छ । सो निर्णयमा समाजवादीकै कतिपय प्रभावशाली नेताहरुले आपत्ति जनाएका छन् । पार्टी एकताको लागि माधव नेपालभन्दा पनि बढि सक्रिय प्रचण्ड देखिएका छन् ।

सत्ता समिकरणको जोडघटाउ मिलाउनेगरि शक्ति सञ्चयको लागि उनले एकीकृत समाजवादीसँग एकताको प्रक्रिया थालेका हुन् । चुनावअघि नै दुई दलबीच एकता प्रक्रिया थाल्ने भनेर कार्यदल नै गठन गरिएको थियो । पार्टी एकताको लागि माधव नेपालपनि सकारात्मक छन् ।

दुवै दलले कांग्रेस नेतृत्वको वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने निश्कर्ष निकाल्दै सरकार गठन गर्नुअघि नै दुई दलबीच एकता गरिसक्ने तयारी गरेका छन् । चुनावको नतिजा आउँदै गर्दा यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई फोन गरेर बधाई साटासाट गर्नुको साथै सरकार गठनमा सहकार्यको प्रस्ताव राखेका थिए ।

तर, दाहालले भने कांग्रेसलाई छाडेर एमालेसँग सरकारको लागि सहकार्य गर्न असम्भव रहेको प्रतिक्रिया दिन थालेका छन् । माओवादी र एकीकृत समाजवादी एकता गरेर सरकारमा गए सरकारको नेतृत्व आलोपालोसहित मुख्य पदमा दाबी गर्ने भएका छन् ।