१६ चैत्र २०८०, शुक्रबार

सबैको नजर स्वतन्त्र पार्टीमाथि, कस्ले बनाउला सरकार ?

rabi rsp

नेपालको संविधान अनुसार बहुमत प्राप्त दलले सरकार बनाउने प्रावधान छ । तर, कुनै दलको बहुमत नभएको अवस्थामा सबैभन्दा ठूलो दलले अन्य दलसँग मिलेर बहुमतसहितको सरकार बनाउन सक्ने छ ।

यसपटकको निर्वाचनमा कुनै पनि दलको बहुमत नभएको अवस्थामा दुई वा सो भन्दा धेरै दलहरु नमिलि सरकार बन्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमाथि सबैको नजर अडिएको छ ।

यसपटको प्रतिनिधिसभा निर्वाचन कसैका लागि विशेष रह्यो भने त्यो राष्ट्रिय स्वतन्त्र पार्टीका लागि नै हो । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी पनि पहिलो पटक निर्वाचनमा सहभागी भएर केही स्थानमा विजयी भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी चौथो दल बन्ने निश्चित भैसकेकाले उसका लागि विशेष हुने नै भयो । प्रत्यक्षतर्फ ७ स्थानमा विजयी भएको यो पार्टीले समानुपातिकमा एमाले र कांग्रेसपछि माओवादी केन्द्रकै हाराहारीमा मत पाएको छ । केही कम मतका कारण स्वतन्त्र पार्टी चोथौं दल बन्ने देखिएको छ ।

समानुपातिकमा पाएको मत र प्रत्यक्षतर्फ पाएको सिट संख्यालाई आधार मान्दा २० सिट हाराहारीमा स्वतन्त्र पार्टी चौथो दलकै रुपमा संसदमा प्रवेश गर्ने निश्चित भैसकेको छ । स्वतन्त्र पार्टीले एकीकृत समाजवादी, राप्रपा, जसपा, लोसपा, जनमोर्चा, नेमकिपा लगायतका स्थापित दलहरुलाई नै पछाडि पारेको छ ।

संसदमा चौथो दलको हैसियत भएको स्वतन्त्र पार्टी अब सरकारमा जान्छ कि बाहिरै बसेर प्रतिपक्षको भूमिका निर्वाह गर्छ त ? पार्टी सभापति रवि लामिछाने र निर्वाचित प्रतिनिधिसभा सदस्यहरुको भनाइलाई मान्ने हो भने राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जाने मनस्थिति बनाएको छ ।

संसदको अहिलेको अंक गणितले पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा जानका लागि सहज बनाइदिएको छ । किनकी कुनै दलसँग बहुमत नभएको र बहुमतको नजिक संख्या पनि नभएका कारण कम्तिमा तीन दल र त्यो भन्दा बढि दलको समीकरणबाट मात्रै सरकार बनाउनुपर्ने बाध्यता छ ।

चुनावमा तालमेल गरेका सत्तारुढ गठबन्धनको बहुमत स्पष्ट नभइसकेको अवस्थामा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्थामा राप्रपा वा राष्ट्रिय स्वतन्त्र पार्टीको आवश्यकता झनै खट्किएको छ । यद्यपी नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा र जसपा लगायतका दलहरुले थोरै भए पनि सिट सुरक्षित गरेका छन् ।

यी दलहरुसँगको तालमेल भन्दा स्वतन्त्र पार्टीसँग तालमेल गर्दा कांग्रेस वा नेकपा एमाले जस्ले सरकार बनाउन चाहे पनि केही सहज बन्न सक्ने विश्लेषकहरु बताउँछन् । तर राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको मत सरकारमा जानका लागि भन्दा पनि प्रतिपक्षमा बसेर शसक्त आवाज उठाउनका लागि भएको जानकार बताउँछन् । सुशासन, भ्रष्टाचार र पुराना दलहरुविरुद्ध खरो उत्रिएको पार्टीले सरकारमा होस या प्रतिपक्षमा बस्दा होस कस्तो भूमिका निर्वाह गर्ने छ ? त्यो भने केही दिनमै स्पष्ट हुनेछ ।