थापाथलीस्थित बाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन पुगेको काठमाडौं महानगरपालिकाको टोलीमाथि स्थानीयहरु हतियारसहित प्रतिकारमा उत्रेका छन् ।
संरचना हटाउनु अघि उनीहरुले अन्यत्रै बसोस्थानको व्यवस्था मिलाउन माग गरेका छन् । आक्रोसित भएका सुकुम्बासीहरुले हतियार, लौरी, ढुंगामुढा हातमा बोकेका छन् ।
महानगरको डोजर आएलगत्तै सामानसहित कोही तयारी अवस्थामा बसे भने कोही हतियारसहित विरोधमा उत्रिए । बस्तीमा बस्दै आएका बालबालिका, वृद्धावृद्धा र किरिया पुत्रीहरु पनि सामान निकालेर बसेका थिए ।
सुकुम्बासीहरुले रातभर घरेलु हतियारसहित बस्तीलाई सुरक्षा दिने र डोजर भित्र छिरेमा पेट्रोल लगाएर जलाउने तयारी गरेका छन् ।
उनीहरुले देशभर रहेका सुकुम्बासीहरुलाई राजधानीमा उतारेर सरकारको विरोधमा तेस्रो ठुलो जनआन्दोलन गर्ने पनि चेतावनी दिएका छन् ।