६ बैशाख २०८१, बिहीबार

प्रलाेभन देखाएर अमेरिका र पोर्चुगल पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने दुई जना पक्राउ

Crime Division Kathmandu Valley

अमेरिका र पोर्चुगल पठाइदिन्छु भन्दै प्रलाेभन देखाएर लाखौं ठगी गर्ने दुई जनालाई प्रहरीले पक्रेकाे छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई ललितपुरस्थित सातदोबाटोबाट आइतबार पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा रामेछाप नगरपालिका-५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३४ वर्षीय योगेशराज श्रेष्ठ र सर्लाही हरिपुर नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३२ सुविधानगर बस्ने ३० वर्षीया धनकुमारी ओली रहेका छन् । 

श्रेष्ठले अमेरिकाको प्रतिष्ठित कम्पनीमा लगेर जागिर लगाइदिने र त्यसका लागि प्रतिव्यक्ति २५ लाख रुपैयाँ लाग्ने भन्दै प्रलोभनमा पारी पीडितबाट १४ लाख सात हजार रुपैयाँ रकम ठगी गरी सम्पर्कविहीन  भएका थिए । 

धनकुमारीले समेत विभिन्न व्यक्तिहरूलाई पोर्चुगलका प्रतिष्ठित होटेलमा जागिर लगाइदिन्छु प्रतिव्यक्ति १३ लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट २१ लाख रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएकी थिइन् । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि बुद्धनगरस्थित वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।  

    सम्बन्धित समाचार...