१३ बैशाख २०८१, बिहीबार

खोटाङको केपिलासगढीमा विद्यार्थीको होमवर्क जाँच कार्यक्रम

palika checks copy kepilasgadhi khotang

शैक्षिक गुणस्तर सुधारका लागि खोटाङको केपिलासगढी गाउँपालिकाले विद्यार्थीको होमवर्क जाँच कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा थप क्रियासिल गराउनका लागि गाउँपालिकाले निःशुल्क कापी वितरण गर्ने र विद्यार्थीले लेखिसकेका कापी चेकजाँच गर्ने कार्यक्रम लागू गरेको हो । सात वडा रहेको गाउँपालिकाले कक्षा कार्य र गृहकार्य चेक गर्नेगरी प्रथम चरणमा कक्षा १ देखि कक्षा ३ सम्मका विद्याथीलाई आफैले तयार पारेको ‘विद्यार्थी अभ्यास पुस्तिका’ निःशुल्क वितरण गरेको छ ।

पृष्ठभूमीमा गाउँपालिकाको कार्यालय र नक्सा राखिएको ‘विद्यार्थी अभ्यास पुस्तिका’ आइतबार गाउँपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले औपचारिक कार्यक्रमका बीच विद्यालयका प्रअ तथा प्रतिनिधिलाई हस्तान्तरण गरेका छन् ।

गाउँपालिकाले गाउँपालिकाभरीका ३७ वटा सामुदायिक विद्यालयका कक्षा १ देखि कक्षा ३ सम्मका ९४९ विद्यार्थीलाई मंसिर महिनाका लागि चार/चार वटाका दरले ३ हजार ७९६ वटा अभ्यास पुस्तिका वितरण गरेको छ । मिति, विद्यार्थीको नाम, कक्षा, रोल नम्बर, विषय, विद्यालय, विषय शिक्षकको नाम र सम्पर्क नम्बर, प्रअको दस्तखत, अभिभावकको नाम र सम्पर्क नम्बर उल्लेख भएको ‘अभ्यास पुस्तिका’ वितरणपछि विद्यार्थीले अन्य कापी प्रयोग गर्न पाउने छैनन् । पुस, माघ र फागुन महिनाका लागि प्रतिविद्यार्थी चार वटाका दरले वितरण गर्नेगरी अन्य अभ्यास पुस्तिका भण्डारण गरेर राखिएको गाउँपालिकाले जनाएको छ । चालू शैक्षिक सत्रका लागि १६ हजार कापी छापिएका छन् ।

कक्षा कार्य र गृहकार्य गर्नेक्रममा भरिएको कापीलाई सम्वन्धित विद्यालयका प्रअले गाउँपालिकामा बुझाएर नयाँ कापी लैजाने व्यवस्था गरिएको छ । विद्यार्थीले सबै पानामा लेखिसकेपछि प्रअले बुझाएको कापीलाई भने जनप्रतिनिधिको उपस्थितिमा शिक्षा शाखाले चेक गर्ने गाउँपालिका अध्यक्ष राईले बताए ।

यो कार्यक्रम विद्यार्थीलाई सक्रिया बनाउन मात्र नभएर केही कामचोर शिक्षकमाथिको ‘निगरानी’का लागि ल्याइएको बुझिएको छ । कतिपय शिक्षकले नपढाउने, पढाए पनि कक्षा कार्य र गृहकार्य गराउनमा पर्याप्त ध्यान नदिएकाले निःशुल्क कापी उपलव्ध गराउने र चेक गर्ने रणनिति अघि सारिएको गाउँपालिकाले जनाएको छ । यस कदमले शिक्षकमाथि विद्यार्थीलाई बढिभन्दा बढि कक्षा र गृहकार्य गराउनमा दवाव सिर्जना हुने दावी गरिएको छ । 

विद्यार्थीको कापी चेक गर्दा विद्यालय र शिक्षकको शैक्षणिक क्रियाकलाप वारे गाउँपालिकालाई जानकारी हुने छ । छात्र/छात्रालाई कक्षा कार्य र गृहकार्य गराउने वा नगराउने शिक्षकको पहिचान हुनेछ । नियमित गृहकार्य गर्ने/नगर्ने विद्यार्थीको पनि पत्ता लाग्नेछ । गाउँपालिकाले दिएको कापी लगेर प्रयोग गर्नुपर्दा फर्जी विद्यार्थीको संख्या देखाउने परिपाटी समेत नियन्त्रण हुने अध्यक्ष राईले बताए । ‘विद्यार्थीलाई लेख्न नलाएर वा अभ्यास नगराएकै कारण सामुदायीक विद्यालयको गुणस्तर खस्किएको हाम्रो बुझाई छ ।

शिक्षकले पढाउने मात्रै अभ्यास नै नगराउने समस्या देखिएको छ,’ अध्यक्ष राईले भने, ‘बेस बनाउनका लागि तल्लो कक्षाको कापी चेक गर्ने रणनिती बनाइएको हो । पढ्नु पर्छ/पढाउनु पर्छ भन्ने मानसिकता विकास गरिदिन खोजिएको हो । यसले शिक्षकलाई जिम्मेवार वन्न दवाव पुग्छ । विद्यार्थीलाई अभ्यासमा अग्रसर गराउने अपेक्षा लिएका छौँ । यसबाट आन्तरिक प्रतिष्पर्धा पनि हुन्छ ।’

विद्यार्थीको कापी चेक गर्ने नीतिले गाउँपालिकाभरीका विद्यालयमा कोर्सलाई एकै समयमा पुरा गर्न दवाव पुग्ने अपेक्षा गरिएको छ । कापी अभावमा होमवर्क नगर्ने विद्यार्थीले पनि नियमित होमवर्क गर्ने वातावरण बन्ने गाउँपालिकाका शिक्षा शाखा संयोजक सुरेन्द्र खनालले बताए । पालिकाले चेक गरिसकेको कापी विद्यार्थीले फिर्ता लैजान पाउने छन् । 

अभ्यास पुस्तिकाको पछाडिपट्टिको जिल्दामा विद्यार्थी, शिक्षक र अभिभावकले पालन गर्नुपर्ने नियम उल्लेख गरिएको छ । यस्तै, शैक्षिक गुणस्तर सुधारका लागि प्रअ तथा शिक्षा शाखाले विषय शिक्षक/कक्षा शिक्षकलाई लिखित सुझाव दिने ठाउँ बनाइएको छ । अभ्यास पुस्तिका प्रयोगका क्रममा विद्यार्थीले दिउँसोको कक्षा कार्य र गृहकार्य गरी शिक्षकलाई जाँच गराउनुपर्ने, कक्षा कार्य र गृहकार्यको मिति अनिवार्य लेख्ने र अभ्यास पुस्तिकाको सम्पूर्ण पाना लेखिसकेपछि विद्यालयमा बुझाउनु पर्ने संयोजक खनालले बताए ।

शिक्षकले प्रत्येक दिन कक्षा कार्य र गृहकार्य दिने र रातो मसी प्रयोग गरी जाँच गर्नुपर्ने, विद्यार्थीले सम्पूर्ण पेज लेखिसकेपछि प्रअबाट प्रमाणित गराएर विद्यालयमार्फत शिक्षा शाखामा पठाउनुपर्ने छ । यस्तै, अभिभावकले प्रत्येक दिन शिक्षकले गृहकार्य दिए/नदिएको जाँच गर्नुपर्ने, आफ्नो छोराछोरीलाई दिइएको गृहकार्य अनिवार्य रुपमा गर्न लगाउनुपर्ने नियम राखिएको छ । 

आगामी शैक्षिक–सत्रदेखि कक्षा ४ र कक्षा ५ मा पनि ‘विद्यार्थी अभ्यास पुस्तिका’ निःशुल्क वितरण गर्दै चेक गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याइने छ । कार्यक्रम प्रभावकारी देखिए कक्षा ६ र कक्षा ७ को विज्ञान, गणित र अंग्रेजीको कापी चेक गर्ने अवधारणा बनाइएको गाउँपालिका अध्यक्ष राईले बताए ।

केपिलासगढीका ३७ विद्यालयमा कक्षा ११ बाहेक ३ हजार ३२४ जना विधार्थी अध्ययनरत छन् । कार्यक्रममा सहभागी राजनैतिक दल, वडाध्यक्ष, व्यवस्थापन समिति, प्रअ एबं अभिभावकले विद्यार्थीको होमवर्क जाँच कार्यक्रमलाई सफल बनाउनका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । 

    सम्बन्धित समाचार...