११ बैशाख २०८१, मंगलवार

कहिले घनश्याम, कहिले डिगबहादुर !

limbu khatiwada

मोरङ क्षेत्र नम्बर १ मा नेपालीका कांग्रेसका डिगबहादुर लिम्बु विजयी भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका घनश्याम खतिवडालाई पराजित गरेका छन् । एमालेका निर्वतमान सांसद खतिवडा कांग्रेस नेता लिम्बूसँग ४ सय ३० मतको अन्तरले पराजित भए ।

मतगणनाको अन्तिम परिणामअनुसार कांग्रेसका लिम्बु २७ हजार २ सय ९७ मतका साथ निर्वाचित भएका हुन् । खतिवडाले २६ हजार ८ सय ६७ मत पाएका छन् ।

एक जमानामा उत्तरी मोरङको लेटाङमा सँगै शिक्षण पेशा गरेका दुई नेताबीचको चुनावी प्रतिस्पर्धा भने निकै उतार–चढावपूर्ण छ । दुबैजना लेटाङका स्थानीय बासिन्दा र पूर्व शिक्षक हुन् ।

कांग्रेस नेता लिम्बू पाँच दलीय गठबन्धनका साझा उम्मेदवार थिए । उनी २०७० मा सम्पन्न दोस्रो संविधानसभाको चुनावबाट संविधानसभा सदस्य बने । त्यसबेला उनले खतिवडालाई नै १ हजार ५ सय मतान्तरले पराजित गरेका थिए ।

तर, २०७४ मा भने लिम्बूलाई भारी मतान्तरले पराजित गर्दै खतिवडा प्रतिनिधिसभा सदस्य बने । लिम्बूले त्यसबेला ६ हजार ८८ मतान्तरले पराजित हुनु परेको थियो । दुबै नेताहरुले एक–एक पटक हार व्यहोरेरिसकेका छन् ।

माओवादीको उभार आउँदा २०६४ को पहिलो संविधानसभा निर्वाचनमा दुबै नेताले माओवादीका नगेन्द्र धिमालसँग साझा हार व्यहोरेका थिए ।

राजनीतिक परिवर्तनको आन्दोलनमा निर्वाह गरेको भूमिका र जमाएको प्रभावका कारण दुई फरक पार्टीमा रहेर उनीहरुले एउटै क्षेत्रबाट निरन्तर प्रतिस्पर्धा गर्ने अवसर पाइरहेका छन, पार्टीले पनि पत्याइरहेको छ ।

लिम्बू कांग्रेसका जिल्ला सभापति हुन् भने खतिवडा एमाले प्रदेश १ का सचिवालय सदस्य हुन् ।

पहिलो पटक २०४९ सालको स्थानीय निकाय निर्वाचनमा लिम्बू र खतिवडा आमने– सामने भएका थिए । त्यतिबेलाको प्रतिस्पर्धामा बाजी मार्दै खतिवडा तत्कालीन लेटाङ गाविसको अध्यक्ष बने ।

३० वर्षदेखि मोरङमा लिम्बू र खतिवडा नै एक अर्काका प्रतिस्पर्धी छन् । पाँच पटकको चुनावी प्रतिस्पर्धामा २ पटक खतिवडा र २ पटक लिम्बू र एक पटक दुबैले हारको स्वाद चाखेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा वडागत मतपरिणाम अनुसार यो क्षेत्रमा कांग्रेसभन्दा एमाले १ हजार ५ सय १३ मतले अगाडि थियो । उर्लाबारी, लेटाङ नगरपालिकाका साथै केराबारी र मिक्लाजुङ गाउँपालिका समेटिएर मोरङ क्षेत्र नम्बर १ बनेको छ । ३७ वटा वडा रहेको यो क्षेत्रमा १ लाख २३ हजार ६ सय १५ मतदाता छन् ।

    सम्बन्धित समाचार...