१२ बैशाख २०८१, बुधबार

किन तीव्रता दिएर भेटे भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डलाई ?

rajdut

भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकाप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । दुई नेताबीच सरकार गठनको विषयमा उक्त भेटमा भएको जनाईएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आइरहेको र नयाँ सरकार गठनबारे चासो बढिरहेका बेला प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डसँग भारतीय राजदूत श्रीवास्तवले भेटवार्ता गरेका छन् । देउवासँगको भेटमा भारतीय राजदूत श्रीवास्तवले समसामयिक राजनीतिक विषयमा चासो राखेका थिए ।

राजदूत श्रीवास्तवले आगामी सरकार निर्माण र सत्ता समीकरणबारे चासो राखेकोमा प्रधानमन्त्री देउवाले सबै परिणाम नआइसकेकाले अहिले नै त्यसबारे छलफल नभएको बताएका थिए ।

देउवालाई भेट्न राजदूत श्रीवास्तव शुक्रबार अपराह्न बालुवाटार पुगेका थिए।

यता प्रचण्ड निवास खुमलटार पुगेका राजदूत श्रीवास्तवले समसमायिक विषयमा पनि छलफल गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

आइतबार सम्पन्न निर्वाचनको परिणाम आइनसक्दै भारतीय राजदूतले भेटघाटलाई तीव्रता दिएका हुन् । यस भेटघाटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ।

श्रीवास्तवको यो गतिले पहिले भन्ने गरिएजस्तो राजनीतिक ‘हस्तक्षेपकारी’ बनाउने हो वा सम्वन्धमा नयाँ आयाम ल्याउने हो आउँदा दिनमा थाहा हुने नै छ।