७ बैशाख २०८१, शुक्रबार

जोसँग पायो त्यहीसँग, जतिबेला भन्यो त्यतिबेला सरकारमा जाने भन्दापनि राप्रपा निर्णायक हुने अवस्थामा मात्र जान्छ

rajendra lingden
फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं झापा ३ का नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले आफ्नो पार्टीका महत्त्वपूर्ण नेताहरु संसदमा पुग्नु उपलब्धिमूलक रहेको बताएका छन् ।

‘विगत पाँच वर्षमा संसदमा म एक्लै थिएँ । यसपालि संसदमा राप्रपाको बलियो उपस्थिति हुन्छ भनेर हामीले पहिले नै घोषणा गरेका थियौं । अपेक्षा गरेको तहमा नभए पनि पार्टीका महत्तवपूर्ण व्यक्तित्वहरु संसदमा पुग्नुलाई उपलब्धिका रुपमा लिएका छौं । राप्रपाले अपेक्षित परिणाम ल्याउन सकेन । तर जे आएको छ, त्यसलाई शिरोपर गरेर आगामी दिनमा भूमिका निर्वाह गर्नेछौं’

राप्रपा अध्यक्ष लिङ्देनले भने, आफ्नो पार्टीले सत्ताकेन्द्रित राजनीति नगर्ने भने पनि निर्णायक हुने अवस्थामा सरकारमा जान सक्ने पनि औंल्याए । उनले थपे, ‘राप्रपाले घोषणापत्रमै सत्ता हाम्रो प्राथमिकता होइन भनेर उल्लेख गरेको छ । यसको अर्थ सरकारमा जाँदै जाँदैन भन्ने होइन । जोसँग पायो, त्यहीसँग, जतिबेला भन्यो, त्यतिबेला सरकारमा जाने विगतको सत्ताकेन्द्रित राजनीतिका कारण पार्टीले धेरै क्षति बेहोर्नुपर्यो । अब हामी सोचेर विचार गरेर मात्र निर्णय गर्छौं ।’

राप्रपा एमाले वा कांग्रेस गठबन्धनको सरकारमा जान्छ भन्ने प्रश्नमा उनले भने, ‘अहिले नै यसबारे बोल्नु हतारो हुन्छ । हामी एजेन्डा र जनअभिमतलाई प्राथमिकतामा राख्छौं । राप्रपा निर्णायक भएको अवस्थामा हामी छलफल गर्न सक्छौं । कोसँग जाने भन्दा पनि जाने वा नजाने भन्ने नै निष्कर्षमा पुगेका छैनौं ।’