७ बैशाख २०८१, शुक्रबार

नयाँ सरकार गठनबारे प्रमुख दलका शीर्ष नेताहरू मौन

deuba oli prachand nd nepal

८ मंसिर २०७९, बिहीबार । प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । एक सय ६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म ८३ सिटको परिणाम आइसकेको छ । मतगणना भएका एक सय ६२ मध्ये ७८ को आइसकेको छ । तीन निर्वाचन क्षेत्रमा मतगणना नै हुन सकेको छैन ।

अहिलेसम्मको निर्वाचनको नतिजा हेर्दा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने स्पष्ट देखिइसकेको छ । त्यसैले समानुपातिक मतगणना भई सिट बाँडफाँड नभएसम्म नयाँ सरकारको स्वरूपबारे अनुमान गर्न निकै कठिन छ । त्यही भएर होला अहिलेसम्म प्रमुख वा विपक्षमा रहेका कुनै पनि दलले नयाँ सरकारको भविष्यबारे केही बोलेका छैनन् ।

बिहीबार निर्वाचित जनप्रतिनिधिको प्रमाणपत्र बुझ्न झापा पुगेका एमाले अध्यक्ष केपी ओलीले समेत नयाँ सरकारबारे केही बोल्न मानेनन् । बरु उनले वर्तमान सरकारकै आलोचना गरे । निर्वाचन शान्तिपूर्ण नगराएको, धाँधली गरेको, बुथ क्याप्चर गराएको भन्दै सरकारको आलोचना गरे । निर्वाचनमा जनताले नयाँ शक्तिलाई रोज्नुबारे उनी गम्भीर देखिएनन् । बरु मिडियाकै कारण राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको, त्यसले केही फरक नपार्ने दाबी गरे ।

रौतहट १ बाट चुनाव जितेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि नयाँ सरकारको भविष्यबारे अहिलेसम्म केही नसोचेको बताए । चुनाव जितिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचनमा पार्टीले ल्याएको नतिजाबारे समीक्षा गर्ने भन्दै उनले अब बन्ने सरकार बारे अहिले केही नबोल्ने बताए ।

नेपाली कांग्रेसका शीर्ष नेता पनि नयाँ सरकार गठनको विषयलाई लिएर मौन छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले केही अभिव्यक्ति दिएका छैनन् । बरु कांग्रेस महामन्त्री गगन थापाले चुनाव जितेलगत्तै कांग्रेस संसदीय दलको नेतामा चुनाव लडेर प्रधानमन्त्रीको दाबी गर्ने बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अझै सार्वजनिक भएका छैनन् । निर्वाचनको दिन मतदान गरेपछि उनी घरमै आराम गरेर बसेका छन् । उनी उम्मेदवार बनेको गोरखा २ मा अझै मतगणना जारी रहेको र पार्टीले अपेक्षित सफलता प्राप्त नगरेकाले पनि उनी बाहिर खुल्न चाहिरहेका छैनन् ।