१५ चैत्र २०८०, बिहीबार

विखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा फर्किएका डा राउतको संसद यात्रा, को हुन् सिके राउत ?

ck raut
फाइल फोटो

विखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा फर्किनुभएका जनमत पार्टीका अध्यक्ष डा सिके राउत (चन्द्रकान्त राउत) प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

अघिल्लो सरकारसँग सम्झौता गरी मूलधारको राजनीतिमा युटर्न हुनुभएका डा राउतको पहिलोपटक जनप्रतिनिधिको रुपमा संसद् भवनमा प्रवेश पाउनुभएको हो । डा राउतले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई १८ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

मतगणनाको अन्तिम परिणामअनुसार डा राउतले ३५ हजार ४२ मतसहित निर्वाचित हुँदा यादवले १६ हजार नौ सय ७९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो । सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार लोसपाका नेता जयप्रकाश ठाकुरले भने सात हजार तीन सय ४४ मत मात्र प्राप्त गर्नुभयो । कूल ९५ हजार तीन सय ४४ मतदाता रहेको सो क्षेत्रमा गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६४ हजार पाँच सय ६० मत खसेको थियो ।

को हुन् डा सिके राउत ?
जनमत पार्टीका अध्यक्ष राउत सप्तरीको महदेवा गाउँपालिकाका स्थायी बासिन्दा हुनुहुन्छ । संयुक्त राज्य अमेरिकाबाट नासाको वैज्ञानिक पेसा छाडेर एक दशकअघि उहाँ नेपाली राजनीतिमा प्रवेश गर्नुभएको हो । बेलायतको क्याम्ब्रिज युनिभर्सिटिबाट विद्यावारिधि गर्नुभएका ४३ वर्षीय डा राउत अमेरिकामा बसेर काम गर्दै आउनुभएको थियो ।

राजनीति गर्ने उद्देश्यले सन् २०११ मा नेपाल फर्किनुभएका डा राउत ‘स्वतन्त्र मधेस’ स्वराजको अभियान बोकेर देशव्यापी सङ्गठन निर्माणमा जुट्नुभएको थियो ।

स्वतन्त्र मधेस गठबन्धन नामक पार्टी स्थापना गरेर छ वर्ष लामो अभियान चलाउनुभएका डा राउत सो क्रममा पटकपटक राज्य विप्लवको मुद्दामा पक्राउ परेर जेलसमेत पर्नुभयो । गत २०७५ साल फागुन २४ मा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारसँग ११ बुँद्दे सहमति गरेर मूलधारको राजनीतिमा उहाँ सहभागी हुनुभयो ।

त्यसपश्चात् उहाँले स्वतन्त्र मधेस गठबन्धन पार्टी विघटन गरी जनमत पार्टी गठन गर्नुभयो । निरन्तर सङ्गठन विस्तारमा जुट्नुभएका डा राउत सङ्गठनकै बलमा चुनावी मैदानमा उत्रिनुभएको थियो । डा राउत नेतृत्व जनमत पार्टी नेपाली राजनीतिमा यतिबेला नयाँ शक्तिको रुपमा उदाएको देखिन्छ ।

शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रको विकास गर्नु प्रमुख लक्ष्य हो : डा राउत

सप्तरीको क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा जनमत पार्टीका अध्यक्ष डा राउतले शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रको विकास नै आफ्नो प्रमुख लक्ष्य भएको बताउनुभएको छ ।

राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचित भएको प्रमाणपत्र प्राप्त गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्नुहुँदै डा राउतले आफ्नो पहिलो एजेण्डा नै शिक्षा, स्वास्थ्य, रोजगारी र किसानको समस्या समाधान गर्नुरहेको बताउनुभयो ।

“मलाई सप्तरीका जनताले यी एजेण्डामा काम गर्नकै लागि जनादेश दिएका छन्”, उहाँले भन्नुभयो, “जनताको विश्वास र भरोसालाई टुट्न दिन्न्, जनादेशलाई शिरमा राखेर काम गर्ने छु ।” आफ्नो पहिलो कार्य योजना नै सरकारी सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउने रहेको उहाँको भनाइ थियो ।

सप्तरीलाई सतप्रतिशत शिक्षित जिल्ला बनाउनु, विकराल रहेको कुपोषणलगायतका स्वास्थ्य समस्यालाई समाधान गर्दै सतप्रतिशत जनताको स्वास्थ्यमा सहज पहुँच पु-याउनु, हरेक परिवारलाई रोजगारीसँग जोड्नु र किसानलाई सहजरुपमा मलखाद्य, बीउबिजन र सिँचाइको व्यवस्था गर्नु आफ्नो एजेण्डा रहेको डा राउतले सुनाउनुभयो । राजनीतिक संस्कृतिको विकास गर्न जनताले आफूमाथि भरोसा गरेर जिताएको उल्लेख गर्र्नुहुँदै डा राउतले आफूलाई मतदान गरेर विजयी बनाउनुभएकोमा मतदातालाई धन्यवादसमेत ज्ञापन गर्नुभयो ।