१६ चैत्र २०८०, शुक्रबार

को कहाँ के गर्दैछन् पूर्व र बहालवाला मुख्यमन्त्रीहरू ?

7 CM

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन सकिएको छ । धमाधम प्रदेश र प्रतिनिधि सभातर्फका उम्मेदवारहरूको मतपरिणाम सार्वजनिक भइरहेका छन् । यसैबीच  देश संघीयतामा गए पश्चात भएको पहिलो निर्वाचनमा यसअघिका सात वटै प्रदेशका मुख्यमन्त्रीहरु कहाँ के गर्दैछन् भन्ने आम जनचासोको विषय बनेको छ । 

नेपालमा गत पाँच वर्षमा सात वटै प्रदेशमा पूर्व र बहालवाला गरी कूल १४ जना मुख्यमन्त्रीले शासन गरे ।  यहाँ ती १४ जना मुख्यमन्त्रीहरू को कहाँ के गर्दै गर्दैछन् भन्नेबारे खोतल्ने प्रयास गरिएको छ ।

गत पाँच वर्षमा प्रदेशको नाम नै जुराउन नसके पनि प्रदेश १ ले तीन जना मुख्यमन्त्री पायो । प्रदेश १ का दुई पूर्व र एक बहालवाला गरी तीनै जना निर्वाचनमा सहभागी बनेका छन् । प्रदेश १ का पहिलो मुख्यमन्त्री शेरधन राई यतिबेला नेकपा एमालेका तर्फबाट भोजपुरबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार छन् । 

पूर्वमुख्यमन्त्री राई वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीसँग प्रतिष्पर्धा गरिरहेका छन् ।  हाल सो क्षेत्रमा मतगणना चलिरहँदा पूर्वमुख्यमन्त्री राईले किराँतीलाई पछ्याइरहेका छन् । 

यस्तै प्रदेश १ का अर्का पूर्वमुख्यमन्त्री भीम आचार्य सुनसरी–२ मा नेकपा एमालेका तर्फबाट चुनाव लडिरहेका छन् ।  जारी मतगणनामा पूर्वमूख्यमन्त्री आचार्यले तेस्रो स्थानमा छन् । यस्तै प्रदेश १ का बहालवाला मुख्यमन्त्री राजेन्द्रकुमार राई प्रदेश सभा सदस्य पदका उम्मेदवार छन् ।  उनी भोजपुर प्रदेश सभा १ बाट चुनाव लडिरहेका छन् । 

मधेश प्रदेशका मुख्यमन्त्री भने गत पाँच वर्षमा फेरिएनन् । मधेश का मुख्यमन्त्री लालबाबू राउतले लगातार पाँच वर्ष सत्ता सम्हाले ।  मुख्यमन्त्री राउत यतिबेला पर्सा क्षेत्र नम्बर १ ख बाट चुनाव लडिरहेका छन् । 

यता बागमती प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले चुनाव नलड्ने घोषणा गरेर घरमै आराम गरिहरेका छन् । युवा पुस्तालाई अवसर दिनुपर्ने भन्दै पौडेलले चुनाव नलड्ने घोषणा गरेका हुन् । नेकपा एमालेका नेता समेत रहेका पूर्व मुख्यमन्त्री पौडेलको नेकपा एमालेको राजनीतिमा भने सक्रियता कायम छ ।

यस्तै नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी बागमती प्रदेशकी दोस्रो मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले समेत निर्वाचन नलड्ने घोषणा गरेकी छन् । हाल पार्टी राजनीतिमै उनी सक्रिय रहेको देखिन्छ । अष्टलक्ष्मीलाई पार्टीले प्रतिनिधि सभा सदस्य पदको टिकट दिए पनि उनले आफूले निर्वाचन नलड्ने भन्दै अस्वीकार गरिन् । बागमतीका बहालवाला मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे यतिबेला नेकपा एकीकृत समाजवादीका तर्फबाट धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा पदका उम्मेदवार छन् । 

उता गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पनि एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा  प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका छन् । कृष्णचन्द्र नेपाली पोखरेलको उम्मेदवार कृष्णचन्द्र नेपाली पोखरेल भने यस पटक निर्वाचनमा सहभागी छैनन् । 

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेल आम निर्वाचन २०७९ मा दाङ क्षेत्र नम्बर ३ बाट नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार छन् । लुम्बिनीका बहालवाला मुख्यमन्त्री कुलप्रसाद केसी भने यस पटकको आम निर्वाचनमा उम्मेदवार छैनन् । उनी मुख्यमन्त्री पद सम्हालिरहेका छन् । 

यस्तै कर्णाली प्रदेशका पहिलो मुख्यमन्त्री महेन्द्र बहादुर शाही यतिबेला कालिकोटबाट नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका छन् । कर्णाली प्रदेशका बहालवाला मुख्यमन्त्री कालीबहादुर शाही नेपाली कांग्रेसको तर्फबाट हुम्ला प्रदेश सभा २ मा उम्मेदवार छन् । 

यस्तै पाँच वर्ष पूर्ण कार्यकाल मुख्यमन्त्री पदमै रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट भने यस पटक कतै लागेका छैनन् । मुख्यमन्त्रीका रूपमा सक्रिय रहेका भट्टले यस पटक निर्वाचनमा टिकट पाएनन् । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका भट्ट नयाँ प्रदेश सरकार गठनपछि सम्भवतः पार्टी राजनीतिमै सक्रिय हुने आँकलन गरिएको छ ।

सात वटै प्रदेशको मुख्यमन्त्री पद सम्हालेका अधिकांश नेताहरु प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार रहे पनि हालसम्म कसैको पनि अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छैन ।