१५ मंसिर २०७९, बिहीबार

दोहोरो चरित्र देखाएको भन्दै सुरक्षा परिषद्सँग किमकी बहिनी क्रुद्ध

yo jong

प्योङयाङले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको विषयमा संयुक्त राष्ट्रसंघले बैठक बोलाएपछि उत्तर कोरियाली नेता किम जोङ उनकी शक्तिशाली बहिनीले सुरक्षा परिषद्को कडा आलोचना गरेकी छिन् । सुरक्षा परिषद्ले दोहोरो चरित्र देखाएको समेत उनले बताएकी छिन् । 
 
उत्तर कोरियाले शुक्रबार अन्तरमहादेशीय क्षेप्यास्त्र प्रहार गरेको थियो । उत्तरको प्रहारलाई लिएर सुरक्षा परिषदको बैठक बसेको थियो । किम जोङ उनकी बहिनी यो जोङले परिषद्ले सियोल र वाशिंगटनको ‘खतरनाक सैन्य अभ्यास’ र ‘तिनीहरूको हतियार’ लाई आँखा चिम्लेको आरोप लगाइन् ।
 
‘यो स्पष्ट रूपमा दोहोरो चरित्र हो’, उनको भनाइ उद्धृत गर्दै आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएन)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उनले अमेरिकाले कोरियाली प्रायद्वीपलाई नयाँ संकटतर्फ धकेलेको आरोप लगाइन् ।
 
उत्तर कोरियाका आणविक गतिविधिलाई लिएर अन्तर्राष्ट्रिय समुदायले उमाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ । प्रतिबन्धको उत्तरले विरोध गर्दै आएको छ । प्योङयाङले आणविक गतिविधि बढाइरहँदा एक साताअघि अमेरिका र दक्षिण कोरियाले सिउलमा संयुक्त सैन्य अभ्यास गरेका थिए ।