१४ बैशाख २०८१, शुक्रबार

लोकतान्त्रिक–वाम गठबन्धनले अग्रता जारी गोरखाका दुवै निर्वाचन क्षेत्रमा

prachanda gorkha
फाइल फोटो

गोरखामा प्रतिनिधिसभाका दुवै निर्वाचन क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनले अग्रता जारी राखेको छ ।

प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ मा लोकतान्त्रिक–वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेसम्म नौ हजार पाँच सय २६ मत प्राप्त गर्दै अग्रता कायम गर्नुभएको छ । साँझसम्मको मतपरिणामअनुसार उहाँले मतान्तर फराकिलो बनाउँदै लैजानुभएको हो ।

अध्यक्ष प्रचण्डले आफ्ना मुख्य प्रतिस्पर्धी देखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीलाई छ हजार आठ सय ८८ मतले अग्रता कायम गर्नुभएको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिनुभयो । बुर्लाकोटीले अहिलेसम्म तीन हजार ३८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै अर्का उम्मेदवार नेकपा (एमाले) का अब्दुस सलिम मियाँले कूल दुई हजार ९८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका राजेन्द्र बजगाईं अग्रस्थानमा हुनुहुन्छ । उहाँले साँझसम्मको मतणनाअनुसार तीन हजार एक सय ६२ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिनुभयो ।

एमालेका उम्मेदवार रामशरण बस्नेतले नौ सय ३६ मत ल्याएर बजगाईंलाई पछ्याइरहनुभएको छ । प्रतिनिधिसभातर्फ यो क्षेत्रमा अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय ३७ मत प्राप्त गरेको उहाँले बताउनुभयो । दुवै क्षेत्रमा मतगणना जारी छ ।