५ जेष्ठ २०८१, शनिबार

टाढा–टाढाबाट सबै मतपेटिका आएसँगै खोटाङको मत गणना राति नौ बजेपछि

khota 1

खोटाङमा सबै मतपेटिका गणनास्थल आईपुगेको छ। १३६ मतदानस्थल, १९४ मतदान केन्द्र तथा दुई अस्थायी मतदान केन्द्रबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय(जिल्ला अदालत)मा मतपेटिका आईपुगेको हो।

आईतबार साँझ ५ बजेदेखि नै मतपेटिका आउन थाले पनि भौगोलिक रुपमा टाढा–टाढा मतदान केन्द्र भएकाले सोमबार करीव साढे ११ बजेसम्म सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आईपुगको सहायक निर्वाचन अधिकृत रामानन्द यादवले बताए। यादवका अनुसार वराहपोखरी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाको मतपेटिका आएसँगै रुजु गरेर मतपेटिका बुझ्ने काम भईरहेको छ।

सबै मतपेटिका गाडीमार्फत ल्याईएको हो। जिल्लाभर कूल ७७८ वटा मतपेटिका प्रयोग भएको छ।
मतपेटिका रुजु गर्दै बुझीसक्दा र व्यवस्थापन गर्दा करीव ३ बज्ने र त्यसपछि सर्वदलीय वैठक बसेर आचारसंहिता लगायत विभिन्न प्रावधान र निर्णय गर्दा साँझ पर्ने भएकाले करीव साँझको ७ अथवा ८ बजेबाट मतगणना सुरु हुन सक्ने जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए।

मतगणनाका लागि ३ वटा गणनाास्थल निर्माण गरिएको छ। गणनास्थललाई तारजालीले घेरिएको छ भने सीसी क्यामेरा पनि जडान गरिएको छ। सुरुमा प्रतिनिधिसभाको मतगणना हुनेछ।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको खोटाङमा प्रतिनिधिसभामा आठ जना, प्रदेशसभा ‘क’ मा आठ र प्रदेश ‘ख’ मा छ जना चुनावी प्रतिस्पर्धामा छन्।
प्रतिनिधिसभामा गठबन्धनका उम्मेदवार रामकुमार राई पासाङ र एमालेका उम्मेदवार बिशाल भट्टराईबिच कडा प्रतिष्पर्धा हुने देखिएको छ।
प्रदेश ‘ख’ मा गठबन्धनका उम्मेदवार भुपेन्द्र राई र एमाले उम्मेदवार रामप्रसाद दंगाल तथा प्रदेश ‘क’ मा गठबन्धनका उम्मेदवार बीरवलकाजी राई, एमाले उम्मेदवार पाँचकर्ण राई पिके र स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेलबिच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।

मत गणना राति नौ बजेपछि

खोटाङमा आज रातिदेखि मत गणना गर्ने तयारी गरिएको छ । मुख्या निर्वाचन अधिकृतको कार्यालयमा सोमबार साँझ बसेको उम्मेदवार सहितको सर्वदलीय बैठकले सोमबार राती नौ बजेदेखि मत गणना गर्ने निर्णय गरेको हो ।

मुख्या निर्वाचन अधिकृतको कार्यालयका रुपमा प्रयोग गरिएको जिल्ला अदालतको तीन कोठामा ताल जालीले बारेर मत गणनास्थल तयार पारिएको छ । एउटा कोठामा प्रतिनिधिसभा र अन्य दुई कोठामा प्रदेशसभा (क) र प्रदेशसभा (ख)को मत गणना गर्ने तयारी गरिएको सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताए । बैठकले एक पटकमा पाँच सय मत गणना गरिसकेर परिणाम सार्वजनिक गर्ने निर्णय गरेको छ । 

यस्तै, मतपत्र सदर वा बदर सम्वन्धमा निर्देशिका र निर्वाचन आयोगबाट भएको परिपत्र बमोजिम हुनेगरी मुख्या निर्वाचन अधिकृतबाट अन्तिम निर्णय भए बमोजिम हुने, मत गणनास्थलमा प्रत्येक उम्मेदवारका एक/एक जना प्रतिनिधि बस्न पाउने लगायतका निर्णय भएका छन् । मत गणना स्थलमा प्रवेश पास भएका व्यक्तिको मादक पदार्थ सेवन जाँच गर्ने र मापसे गरे प्रवेश नदिने निर्णय भएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा ६७ हजार ३७३ (४७.१७ प्रतिशत) मत खसेको छ । निर्वाचनमा स्वतन्त्र सहित नौ दलका २६ उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्यमा आठ, प्रदेशसभा (क)मा १० जना र प्रदेशसभा (ख)मा छ जना उम्मेदवार छन् ।