१५ मंसिर २०७९, बिहीबार

चुनाब गराउन उदयपुरको एउटा मतदानस्थलको जिम्मा महिला नेतृत्वलाई

ele

भोली मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाब गराउन उदयपुरको एउटा मतदानस्थलको जिम्मा महिला नेतृत्वलाई सुम्पिएको छ । प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत त्रियुगा नगरपालिका ८ राजाबासस्थित अम्मेबर माध्यमिक विद्यालय मतदानस्थलका २ केन्द्रको चुनाब गराउने जिम्मा महिला नेतृत्वको टोलीलाई दिइएको हो ।

सो मतदानस्थलका २ मतदान केन्द्रमा अधिकृतदेखि कार्यालय सहयोगीसम्म महिला परिचालित हुदैछन् । जस अनुसार केन्द्र (क) को मतदान अधिकृत सुनिता प्रधान र (ख) को मतदान अधिकृत रत्नकुमारी राई तोकिएका छन् । उनीहरुको नेतृत्वमा सबै कर्मचारी महिला परिचालन गरिने जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले बताए । 

पुरुष समान अधिकार दिने समावेशी सिद्धान्तको कार्यान्वयन गर्ने क्रममा मतदान महिलालाई अधिकृतदेखि सबै कर्मचारीको टोलीमा समावेश गरी परिचालन गर्न लागिएको हो । महिला पनि पुरुष भन्दा कम छैनन् भन्ने कुराको प्रमाण पेश गर्न यो कार्य गरिएको कार्यालयले जनाएको छ । 

एउटा केन्द्रमा मतदान अधिकृत, सहायक अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी गरी ८ जना कर्मचारी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कर्मचारी बाहेक सुरक्षाकर्मीतर्फ नेपाल प्रहरी र म्यादी पनि मतदान केन्द्रमा परिचालन हुनेछन् । प्रहरी र म्यादी सुरक्षाकर्मीको संख्या भने सबै केन्द्रमा समान नहुने बताइएको छ । मतदानस्थलको संबेदनसिलता अनुसार कुनैमा घटी र बढी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुरका ६२ कैदीबन्दीले मतदान गर्न पाउने

जिल्ला कारागार शाखामा कैदी बन्दि जीवन बिताई रहेका २ सय ३० जना मध्ये मतदाता नामावलीमा नाम रहेका ६२ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन । भोली आईतवार मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्बाचनमा कैदी बन्दीहरुले पनि मतदान गर्न पाउने ब्यवस्था गरेका छन । जिल्ला कारागार उदयपुरमा सजाय भुक्तानरत कैदीबन्दी मध्ये ६२ जनाले मतदान गर्न पाउने भएको हो ।

कारागार प्रमुख (जेलर) डिगमबहादुर कार्कीले मतदाता नामावलीमा नाम दर्ता रहेका कैदीबन्दीलाई मताधिकार दिइएको बताए । उनका अनुसार कैदीबन्दीलाई समानुपातिकतर्फ मात्र मताधिकार हुनेछ भने प्रत्यक्ष तर्फ मतदानको अधिकार हुने छैन  । कैदी बन्दीलाई मतदान गर्नका लागि कारागार परिसरमै मतदान केन्द्र निर्माण गरिएको छ ।

कारागारमा विभिन्न अपराधमा संलग्न भएर दोषी ठहरिएका र आपराधिक गतिविधिमा संलग्न भई अदालतबाट पुर्पक्षका लागि थुनामा रहेका कैदी र बन्दीको संख्या २ सय ३० जना रहेको छ । जस मध्ये महिला कैदी बन्दीको संख्या ९ जना रहेको जेलर कार्कीले बताए ।  कैदी बन्दी बाहेक मतदान केन्द्रमा खट्ने अधिकृत, सहायक अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी देखि सुरक्षातर्फ खट्ने प्रहरी र म्यादी प्रहरी समेतलाई समानुपातिक तर्फ मताधिकार रहेको छ । उनीहरु जुन जुन केन्द्रमा खट्छन्, त्यहीँ त्यहीँ मतदान गर्न पाउने व्यवस्था निर्वाचन आयोगको गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक अधिकृत धनबहादुर कार्कीले बताए ।

जस अनुसार जिल्लाका दुवै निर्वाचन क्षेत्रमा खट्ने २ हजार १२ कर्मचारीले समानुपातिकमा मतदान गर्ने छन् । उदयपुरको निर्वाचन क्षेत्र १ मा १ सय ५३ मतदान केन्द्रमा ८ जनाका दरले १ हजार २ सय २४ र २ नं. मा १ सय ११ केन्द्रमा ८ सय ८८ जना कर्मचारी खटिएको कार्कीले बताए ।  

सुरक्षाकर्मी तर्फ भने कतिले मतदान गर्न पाउने भन्ने संख्या खुलाएको छैन । सामान्य अवस्थाका मतदान केन्द्रमा ३ जना प्रहरी र ५ जना म्यादी परिरचालन गर्ने नीति रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक एसपी ज्ञानेन्द्रप्रसाद फुयालले बताए । उनका अनुसार सुरक्षा संवेदनसिलता भएका केन्द्रमा भने त्यस भन्दा केही बढीदेखि दोब्बर सम्म सुरक्षाकर्मी परिचालन गर्नु पर्ने भएकाले मतदान गर्नेको संख्या यकिन भन्न नमिल्ले बताए ।

    सम्बन्धित समाचार...