८ बैशाख २०८१, शनिबार

कास्कीमा मतगणनाको तयारीः बन्द कोठाभित्र तारजाली र सिसी क्यामेरा

tarjali magadana sthal

कास्कीमा मतदान अघि नै मतगणना स्थल तयारी अवस्थामा राखिएको छ । आइतबार हुने मतदानपछि ६ घण्टामा जिल्लाका सबै मतपेटिका संकलन भैसक्ने मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए । उनका अनुसार अहिले सबै क्षेत्रको मतगणना स्थल तयारी अवस्थामा छ ।

कास्कीका १ सय ५० मतदानस्थलका ३ सय ४४ मतदान केन्द्रमा कर्मचारीहरु आवश्यक सामग्री सहित तयारी हालतमा छन् । जिल्लाको मतदाना सम्पन्न गर्न २ हजार ७ सय ५२ कर्मचारी खटाइएको छ । शुक्रबार नै सबै मतदान केन्द्रमा मतपत्र, मतपेटिका लगायत सबै सामग्री पु-याइएको छ ।

मतदानपछि कास्कीको मतगणना ३ ठाउँबाट हुने छ । क्षेत्र नम्बर १ को माटेपानीस्थित भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र, क्षेत्र २ को पोखरा सभागृह हल र क्षेत्र ३ को जिल्ला समन्वय समिति (जिसस) हलमा मतगणना हुँदैछ ।निर्वाचन आयोगले मतगणना स्थलमा तारजाली नलगाउने बताए पनि कास्कीको सबै क्षेत्रमा तारजाली लगाएर मतगणना गरिने सूचना अधिकारी पौडेलले जानकारी दिए ।

कास्कीमा ९ सांसदका लागि प्रतिनिधिसभातर्फ ४६ र प्रदेशतर्फ ४५ गरी ९१ उम्मेदवार प्रतिस्पर्धामा छन् । जिल्लामा २ लाख ९१ हजार ५ सय ६८ मतदाता छन् । अघिल्ला निर्वाचनहरुमा ७० प्रतिशत हाराहारीमा मत खसेको थियो । अहिलेको मतगणना समानुपातिक सहित ७ दिनभित्र सकिने मुख्य निर्वाचन अधिकृत खरेलले जानकारी दिए ।