१२ बैशाख २०८१, बुधबार

चार क्षेत्रमा छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धा

kailali leader

४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कैलालीका पाँच निर्वाचन क्षेत्रमध्ये चार क्षेत्रमा ६ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन् ।

कैलाली १ बाट पूर्वमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरी, कैलाली ३ बाट पूर्वमन्त्री गौरिशंकर चौधरी, कैलाली ४ बाट पूर्वमन्त्री लेखराज भट्ट र वीरबहादुर बलायर तथा क्षेत्र नम्बर ५ बाट पूर्वमन्त्री नारदमुनि राना र पुष्करनाथ ओझा चुनावी मैदानमा छन् ।

रामजनम चौधरीले कांग्रेसबाट गठबन्धनका साझा उम्मेदवारका रूपमा प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन् । उनी २०४७ सालमै निर्वाचित सांसद हुन् । उनी पटकपटक मन्त्री भइसकेका छन् । कैलाली १ मा उम्मेदवारी दिएका उनको प्रतिस्पर्धा रेशम चौधरीकी पत्नी रञ्जिचा चौधरी र एमालेका तपेन्द्र रावलसँग हुँदै छ ।

२०७४ को निर्वाचनमा कैलाली ३ का तत्कालीन नेकपाका उम्मेदवार गौरीशंकर चौधरीसँग पराजित भएका रामजनम चौधरीले यसपटक क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका हुन् । तर उनलाई क्षेत्र नम्बर १ मा पनि चुनाव जित्न सजिलो भने छैन । २०७४ को निर्वाचनमा सो क्षेत्रबाट भारी मतका साथ रेशम चौधरी निर्वाचित भएका थिए । यस पटक सो क्षेत्रमा रेशमकी पत्नी रञ्चिता चौधरी दल (नागरिक उन्मुक्ति पार्टी) सहित उम्मेदवार छिन् । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलाली १ मा पर्ने चारवटै पालिका नागरिक उन्मुक्तिले जितेको छ ।

रञ्जिता नै अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले टीकापुर नगरपालिकाको प्रमुख, जोशीपुर गाउँपालिका प्रमुख र उपप्रमुख, जानकी गाउँपालिका प्रमुख र उपप्रमुख तथा भजनी नगरपालिका प्रमुख र उपप्रमुख पद जितेको छ । यो जितले हौसिएको नागरिक उन्मुक्ति पार्टी रामजनमका लागि चुनौती हुने छन् । कैलाली–१ बाटै २०७४ को निर्वाचनमा टीकापुर नगरपालिकाको मेयरमा निर्वाचित तपेन्द्र रावल पनि उम्मेदवार छन् ।

कैलाली ३
कैलाली ३ बाट पूर्वमन्त्री गौरीशंकर चौधरीले उम्मेदवारी दिएका छन् । २०७४ को निर्वाचनमा जित हासिल गरेका चौधरीलाई जितको निरन्तरता दिन यसपटक त्यति सजिलो देखिँदैन ।

सो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका कृष्णकुमार चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी चुनावी प्रतिस्पर्धामा छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कृष्णकुमार चौधरीले पहिलो संविधानसभा निर्वाचनमा आफ्नो निकटतम प्रतिद्वन्द्वीलाई तीन गुणा बढी मतान्तरले पराजित गर्दै संसदीय यात्रा तय गरेका थिए ।

२०७४ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रबाट गौरीशंकर चौधरी निर्वाचित भएका थिए । उनी तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा श्रममन्त्री थिए । तत्कालीन नेकपा भंग भएपछि गौरीशंकर एमालेमा प्रवेश गरे । यो क्षेत्रमा रेशम चौधरीको दल नागरिक उन्मुक्ति पार्टीको पनि बलियो पकड रहेको क्षेत्रमा पर्दछ ।

नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका गंगाराम चौधरी नेपाली कांग्रेसको क्षेत्रीय समितिमा आवद्ध थिए । २०७४ को निर्वाचनताका राजपामा आवद्ध भई रेशम चौधरीलाई जिताउन अहम् भूमिका खेलेका उनी हाल नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्य छन् ।

जिल्लाको कैलारी गाउँपालिका, भजनी नगरपालिका र घोडाघोडी नगरपालिका समेटिएर बनाइएको सो निर्वाचन क्षेत्रमा पहिलो र दोस्रो संविधानसभा निर्वाचन हुँदै २०७४ को निर्वाचनमा माओवादी केन्द्रले विजयी हासिल गर्दै आएको हो । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा भने कैलारीमा कांग्रेस, भजनीमा नागरिक उन्मुक्ति र घोडाघोडीमा एकीकृत समाजवादीले मेयर जितेको छ ।

एक लाख ७ हजार ६५९ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा स्थानीय तह निर्वाचनमा यस क्षेत्रअन्तर्गतका २६ वटा वडामध्ये १९ वडामा वडाध्यक्ष कांगेस, तीन वडाध्यक्ष माओवादी केन्द्र, दुई वडाध्यक्ष एमाले र दुई वडाध्यक्ष नागरिक उन्मुक्तिले जितेको छ ।

कैलाली ४ मा दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा

कैलाली ४ बाट पूर्वमन्त्रीद्वय एमाले सचिव लेखराज भट्ट र नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर उम्मेदवार छन् । बलायर सत्तागठबन्धनका साझा उम्मेदवार हुन् भने भट्टले एकल उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा पुर्ख्यौली घर डोटी भएका एमालेका सुदूरपश्चिम इन्चार्ज भट्ट र चुनाव लड्न डोटीबाट कैलाली झरेका बलायरबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

सत्तारुढ गठबन्धनले प्रतिनिधिसभाको एउटा मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा एकीकृत समाजवादीका प्रेमबहादुर आलेलाई उम्मेदवार बनाउने निर्णयपछि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा बलायर कैलाली ४ झरेका हुन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा वडाध्यक्षले प्राप्त गरेको मतलाई आधार मान्दा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस बलियो देखिएको छ । कैलाली ४ मा पर्ने वडामा कांग्रेसले २२ हजार पाँच सय दुई, एमालेवडाध्यक्षका उम्मेदवारले २० हजार एक सय ६०, माओवादी केन्द्रका उम्मेदवारले १० हजार पाँच सय ८७, एकीकृत समाजवादी पार्टीका उम्मेदवारले तीन हजार एक सय ८० मत प्राप्त गरेका थिए । यस आधारमा सत्तारुढ गठबन्धनमा आवद्ध दलको मत ३५ हजार नाै सय ६९ पुग्छ भने एमालेको मत २० हजार एक सय ६० छ ।

२०६४ सालदेखि यो क्षेत्रमा चुनाव लड्दै आएका एमालेका सचिव नेता लेखराज भट्टलाई आफ्नै पार्टीको मत जोगाएर मात्रै पुग्ने देखिंदैन । पूर्वमाओवादी पार्टी र कांग्रेसका मत तान्न सक्नु उनका लागि चुनौती हुने छ । उनले माओवादी केन्द्रबाट पहिलोपटक २०६४ सालको संविधानसभा सदस्यको चुनाव लड्दा कांग्रेसका दीर्घराज भाटलाई किरब साढे चार हजार मतान्तले पराजित गरेका थिए ।

२०७० को चुनावमा भने कांग्रेस नेता भाटले नेता भट्टलाई पराजित गरेका थिए । २०७४ सालमा भट्टले कांग्रेसका सुनिल भण्डारीलाई झन्डै ११ हजार मतान्तरले जितेका थिए । त्यो बेला वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रबाट उम्मेदवार बनेका भट्टले ३१ हजार ३५९ र भण्डारीले २० हजार ९६० मत पाएका थिए । माओवादी केन्द्र, एकीकृत समाजवादीसहित पार्टीको साथ पाएपछि बलियो बनेको कांग्रेसलाई आन्तरिक असन्तुष्टिले समस्यामा पार्न सक्ने देखिएको छ ।

डोटीबाट कैलाली झरेर यहाँका पुराना नेतालाई उपेक्षा गरिएको भन्दै कांग्रेसमा बलायरप्रति असन्तुष्टि बढेको छ । कार्यकर्ता तहसम्मै देखिएको असन्तुष्टिले बलायरले आफ्नै पार्टीबाट अपेक्षित मत पाउन कठिनाई हुन सक्ने छ । त्यसैगरी माओवादी केन्द्रको मत तान्नु उनको चुनौती छ । एमालेका उम्मेदवार लेखराज भट्ट पनि पूर्वमाओवादीबाट आएका कारण भट्टले माओवादीको मत पनि तान्न सक्ने आंकलन गरिएको छ । त्यसैले बलायरलाई लेखराज भट्टबाट माओवादीको मत जोगाउने चुनौती छ ।

एमालेभित्र देखिएको आन्तरिक किचलोका कारण लेखराजलाई पनि समस्या हुन सक्ने छ । टिकट वितरणमा असन्तुष्टि जनाउँदै एमालेका प्रदेश कमिटी सदस्य मानबहादुर रावलले राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनमा पनि गोदावरी नगरपालिकाको मेयरमा भट्टका भाइ गोकर्ण भट्टले टिकट पाएको र संघमा फेरि दाइले नै टिकट पाएपछि एमाले कार्यकर्ता रुष्ट छन् ।

कैलाली ५ दुई पूर्वमन्त्रीलाई गठबन्धनको पिर

कैलाली ५ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीराज पन्तसँगै दुई पूर्वमन्त्री एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा चुनावी प्रतिस्पर्धामा छन् । संगठनका दृष्टिले कैलाली ५ मा गठबन्धन बलियो छ । कैलाली ५ का २१ वडामध्ये कांग्रेसले १४ र माओवादी केन्द्रले दुईवटा वडा जितेको छ । यहाँ एमालले ६ वटा वडामा मात्रै जित हासिल गरेको छ ।

त्यसैले एमाले उम्मेदवार नारदमुनि रानालाई कांग्रेसको मत आफ्नो पक्षमा ल्याउने चुनौती रहेको छ । २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट विजयी भएका रानाले यसपटक सत्ता गठबन्धनसँग प्रतिष्पर्धा गर्नुपर्ने भएको छ । त्यसैले पनि उनलाई यसपटक थप चुनौती हुने छ ।

कैलाली ५ बाटै स्वतन्त्र उम्मेदवारी दिएका पुष्करनाथ ओझालाई पनि बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छ । २०७० को उपचुनावमा कांग्रेसबाट निर्वाचित भएका ओझा २०७४ मा पार्टीलाई असहयोग गरेको भन्दै कांग्रेसको कारबाहीमा परेका थिए । कांग्रेसको कारवाहीमा परेका ओझा उनै कांग्रेसको मत पाउने आशा बोकेर स्वतन्त्र उम्मेदवा बनेका छन् ।

कांग्रेसका प्रभावशाली नेताले स्वतन्त्र उम्मेदवारी दिँदा गठबन्धबाटै उम्मेदवारी दिए पनि डिल्लीराज पन्तलाई पनि चुनाव कठिन बनेको छ । पुष्करनाथ ओझाको कैलाली–५ मा राम्रो पकड रहेका कारण कांग्रेसको मत उनले पाउन सक्ने डर कांग्रेसमा रहेको छ । कांग्रेसले स्वतन्त्र उम्मेदवारको पक्षमा खुलेको भन्दै धेरै नेता कार्यकर्तालाई यस क्षेत्रबाट कारवाही समेत गरिसकेको छ ।

अर्कोतिर कांग्रेसभित्रको गुट उपगुटको प्रभावका कारण पनि डिल्ली पन्तलाई समस्या हुन सक्ने देखिएको छ । नारदमुनि राना भने दुई कांग्रेसका नेता चुनावी प्रतिष्पर्धामा हुँदा कांग्रेसको मत विभाजन हुने र आफूलाई चुनाव जित्न सजिलो हुने आशामा देखिएका छन् ।