१३ बैशाख २०८१, बिहीबार

सुब्बा र दुलालबीच प्रतिस्पर्धा तेह्रथुमको प्रदेशसभा (क) मा, कसलाई कति चुनौती ?

thum

आगामी ४ मंसिरमा हुने निर्वाचनमा तेह्रथुमको प्रदेश सभा (क) मा लोकतान्त्रिक वाम गठबन्धनबाट कांग्रेसका युवा नेता सन्तोष सुब्बा र एमालेको तर्फबाट किशोरचन्द्र दुलाल प्रतिस्पर्धा गर्दैछन् । सुब्बा र दुलाल दुबै प्रदेसभामा नयाँ अनुहार हुन् । ६५ वर्षका दुलाल र ४४ वर्षका सुब्बा बुबाछोराको फरक उमेर बीच प्रतिस्पर्धामा आएका छन् ।

२०७४ सालमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा यस क्षेत्रमा एमालेका लक्ष्मण तिवारीले जितेका थिए । एमालेबाट तिवारीले टिकटको दावी गरे पनि यसपटक भने पाएनन् । तिवारीको विकल्पको यसपटक भने दुलाललाई उम्मेदवार बनाएर एमाले चुनावी मैदानमा होमिएको छ । गत निर्वाचनमा एमालेको साथमा रहेको माओवादी केन्द्रले कांग्रेसले साथ दिएको छ । दुई नगरपालिका र एक मात्रै गाउँपालिका रहेको यस प्रदेशसभामा हालै सम्पन्न स्थानीय निर्वाचनमा एक मात्रै नगरपालिका कांग्रेसले जितेको छ ।

२०७९ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एमालेले छथर गाउँपालिका प्रमुखमा ३९ सय १५, लालीगुराँस नगरपालिकामा ३३ सय ४४ र म्याङलुङ नगरपालिकामा ५१ सय १७ मत पाएको थियो । गठबन्धनले छथर गाउँपालिकामा ३३ सय ६,लालीगुराँस नगरपालिकामा ५१ सय ३९ र म्याङलुङ नगरपालिकामा ४४ सय ७८ मत पाएको थियो ।

छथर र म्याङलुङमा गठबन्धन गरे पनि लालीगुराँस नगरपालिकामा माओवादी केन्द्र गठबन्धन नगरी चुनाव लड्दा १५८ मत प्राप्त गरेको थियो । स्थानीय निर्वाचनमा आएको मत परिणाम हेर्दा एमाले सँग १२ हजार ३७६ मत भने गठबन्धन सँग १३ हजार ८१ मत रहेको छ । एक नगरपालिका र एक गाउँपालिका जितेको एमाले ७०५ मतले यस क्षेत्रमा कमि छ । स्थानीय निर्वाचनको मत परिणामलाई तुलना गर्दा तेह्रथुमको प्रदेशसभा १ मा दुलाललाई जितको लागी चुनौती देखिएको छ ।

सुब्बालाई समर्थन गर्दै जनता समाजवादी पार्टीका प्रदेशसभा उम्मेदवार सूर्य मादेनले आफ्नो उम्मेदवारी निस्क्रिय परी साथ दिएका छन् । समृद्ध तेह्रथुमको विकास गर्न आफू चुनावी मैदानमा आएको सुब्बाले बताए । ‘तेह्रथुमको विकासको निम्ती हामी रणनीतिक,योजना र मनोवैज्ञानिक रुपमा पनि तयार छौँ । हाम्रो उर्जाशील समय तेह्रथुमको विकास गर्न साथ दिनुस् । तपाईंहरुले दिएको साथलाई हामी धोका दिने छैनौ,’ उनले भने ।

शिक्षाको समस्यालाई व्यवस्थापन गर्दै गुणस्तरीय शिक्षा बनाउन पूर्वाधार विकासमा प्राथमिकता दिँदै युवाहरू ईमान्दर युवा सिपयुक्त र स्वास्थ्य सेवामा प्रतिबद्ध रहने दुलालले बताए । ‘हिजो एमालेको नेतृत्वमा भएका विकास निर्माणका योजनाहरुलाई फेरि पनी निरन्तरता दिनेछु । पर्यटकीय स्थलहरु, प्रदेशसभा (क) मा रहेका सडकहरुको स्तराेन्नतिमा लाग्नेछु । मेरो ईमान्दारी मेरो लगनशीताका कारण मैले जनताको मत पाउनेछु भन्ने विश्वास छ,’ उनले भने । तेह्रथुमको प्रदेशसभा (क) मा मुख्य प्रतिस्पधी दलको रुपमा नेकपा एमाले र सक्त गठबन्धन दल रहेका छन् । यस प्रदेशसभामा एक स्वतन्त्रसहित ८ जना चुनावी मैदानमा रहेका छन ।