४ बैशाख २०८१, मंगलवार

कडा भिडन्त झापा-३ मा: सिटौला र लिङ्देनमध्ये कसले मार्ला बाजी?

sitaula Rajendra

आशन्न प्रतिनिधसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं ३ चासोको क्षेत्र हो ।

यहाँ नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् । १८ जना चुनावी मैदानमा रहेको यस क्षेत्रमा प्रतिष्पर्धा भने सिटौला र लिङ्देनबीच हुने पक्कापक्की छ ।

राप्रपाका राजेन्द्र लिङ्देनलाई स्वतन्त्र उम्मेदवारी दिएका डम्बर गिरीको उपस्थिती चुनौतिपूर्ण छ । एमालेले राप्रपालाई समर्थन गरेपछि स्वतन्त्र उम्मेदवारी दिएका पूर्व एमाले गिरीले लिङदेनलाई अप्ठेरोमा पार्न सक्ने देखिन्छ । तर एमाले अध्यक्ष केपी शर्मा ओली नै झापा पुगेर लिङदेनलाई जिताउन दौडधुप गरिरहनु भएको छ ।

अघिल्लो निर्वाचनमा लिङदेनले सिटौलालाई झण्डै साडे १३ हजारको मतान्तरले पराजित गर्नुभएको थियो । लिङदेन जितलाई निरन्तरता दिने लक्ष्यमा हुनुहुन्छ ।

अघिल्लो निर्वाचनमा कांग्रेस एक्लै लडेको अवस्थामा पराजित भएका सिटौलालाई यसपटक एमाले फुटेर बनेको एकीकृत समाजवादी, माओवादी र जनमोर्चाको पनि साथ छ ।

त्यसैले पनि यो पटक सिटौलालाई चुनाव जित्न केही सहज छ । त्यसमाथि सो क्षेत्रमा धेरै काम गरेकोले पनि जनताले आफूलाई चुन्ने उहाँको दाबी छ ।

यस निर्वाचन क्षेत्रमा भद्रपुर नगरपालिकाको वडा नम्बर १ देखि ८ सम्म, कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका, हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिका वडा नं १० पर्छन् ।

गत स्थानीय तह निर्वाचनमा कचनकवलको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले, हल्दिबारीको अध्यक्ष र उपाध्यक्ष दुवै राप्रपा र भद्रपुरमा नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा राप्रपाले जितेको छ । २८ वटा वडामा एक लाख ३१ हजार चार सय ३२ मतदाता रहेको यस क्षेत्रमा कांग्रेसले १६, राप्रपाले पाँच, एमाले चार, माओवादीले दुईवटा वडा जित्दा एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।