१२ बैशाख २०८१, बुधबार

चौविस घण्टा पनि टिक्न नसकेका यी हुन् निर्वाचन आयोगका विवादित ६ निर्णय

nepal elecion commison

स्वच्छ निश्पक्ष र पारदर्शी निर्वाचन गराउने संवैधानिक जिम्मेवारी पाएको निर्वाचन आयोग पछिल्लो समय आफ्नै केही निर्णयका कारण विवादको चौधेरामा रुमलिएको छ ।

उसका केही निर्णय र मतदाता शिक्षा सम्बन्धी सामग्रीका कारण आयोग विवादित मात्रै बनेको छैन, चर्को आलोचनाको शिकार हुँदा कतै उ काम कारबाहीबाट बिचलित त हुने हैन भन्ने चिन्ता पनि थपिएको छ ।

कार्तिक १९ समाचार हटाउन निर्देशन
कार्तिक २० समाचार हटाउने निर्णय संशोधन
कार्तिक ४ मा सार्वजनिक निर्वाचन शिक्षासम्बन्धी गीत ५ गते डिलिट
कार्तिक १४ मा सार्वजनिक निर्वाचन शिक्षासम्बन्धी भस्मासुर सन्देश विवादित
‘नो नट अगेन’ माथि कारबाहीको निर्णय अदालतमा
तोसिमा कार्कीको उम्मेदवारी खारेजी प्रकरण अदालतमा

केही निर्णय र मतदाता शिक्षा सम्बन्धी सामग्रीहरु विवादित बन्दा निर्वाचन आयोग आलोचनाको शिकार बन्न पुगेको छ । महत्त्वपूर्ण समयमा देखाउनुपर्ने संयमता र विषयप्रतिको संवेदनशीलताको अभावका कारण आयोगका केही निर्णयहरु कच्चा देखिन थालेको हो । हेरौं आयोगका पछिल्ला निर्णय र विवादका श्रृंखला ।

समाचार हटाउन निर्देशन र संशोधन
कार्तिक १९ गते झापा क्षेत्र नम्बर १ का एमाले उम्मेदवार अग्नि खरेलको परिवारका सदस्यका बारेमा प्रकाशित समाचार हटाउन २४ घण्टे निर्देशन जारी गरेको आयोग आफैं २४ घण्टा नबित्दै पछाडि हट्यो । समाचारका विषयमा समेत स्पष्टीकरण सोधेको आयोगको सञ्चार जगतबाटै चर्को आलोचना भएपछि निर्देशन संशोधन गर्नुपर्ने अवस्थामा आयोग पुग्यो । सामान्यतया प्रेस काउन्सिल मार्फत् हुनुपर्ने र सोधिनुपर्ने प्रष्टीकरणमा आयोग आफैं हतारिंदा यो निर्णय विवादित मात्रै बनेन सञ्चार माध्यममाथि अनावश्यक हस्तक्षेपको आरोप खेप्न बाध्य हुनुपर्यो ।

गीत बन्यो, भोलिपल्टै हट्यो
कार्तिक ४ गते साँझ आयोगले ‘चुनावको लहर छाएको’ भन्दै निर्वाचनको प्रचारका लागि एक भिडिओ सामाजिक संजाल मार्फत सार्वजनिक गर्यो । तर भोलिपल्ट बिहान दश बज्दा नबज्दै ुहाम्रो देशमा फेरि पनि चुनाब आएको छ, देशैभरि चुनाबको लहर छाएको छ’ बोलको गीत हटाइयो । यो भिडियो सामग्री राम्रो नभएको भन्दै चर्को आलोचना भएपनि आयोगले हटाएको हो ।

भस्मासुर विज्ञापन पनि विवादित
कार्तिक १४ गते आयोगले निर्वाचन शिक्षा र चुनावको प्रचारका लागि भन्दै सार्वजनिक गरेको अर्को श्रव्य दृश्य सामग्री पनि विवादित भयो । ुआज पनि सान्दर्भिक एउटा नीतिकथास् जब शिवजीले तथास्तु भने।।। ु भन्दै आयोगले आफ्नो ट्वीटरबाट सार्वजनिक गरेको धर्मशास्त्रमा आधारित महादेवले भष्मासुरलाई दिएको वरदान सम्बन्धी विषयलाई समावेश गरिएको श्रव्यदृश्य सामग्री अन्तर्राष्ट्रिय सर्ट फिल्म कम्पिटिसन ‘माइ रोड रिल’मा सहभागी भइसकेको हिन्दी भाषाको श्रव्यदृश्य सामग्रीसँग हुबहु मिलेपछि चर्को आलोचना भयो ।

‘नो नट अगेन’ लाई कारबाही
कार्तिक ८ गते ‘नो नट अगेन’ अभियानलाई कारबाही गर्ने चेतावनीसहित आयोगले विज्ञप्ति निकाल्यो। नो नट अगेन नामको फेसबुक पेजले ठूला राजनीतिक दलका नेताहरूबाट युवामा शक्ति हस्तान्तरण गर्ने उद्देश्यले यो अभियान सुरु भएको जनाए पनि व्यक्ति लक्षित भएको भन्दै आयोग आक्रामक बन्यो । तर आयोगको उक्त निर्णयको चौतर्फी आलोचना मात्रै भएन यो अभियान झनै फैलियो । आयोगको निर्णयको विरोधमा सर्वोच्चमा दर्ता भएको रिटमा तत्काल कारबाही अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

तोसिमा कार्कीको उम्मेदवारी खारेज
कार्तिक १२ गते आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर(३ की उम्मेदवार तोसिमा कार्की लाभको पदमा कायमै रहेको भन्दै उम्मेदवारी खारेज गर्यो । कार्कीले उम्मेदवारी दर्ता गर्नुअघि नै नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको हो वा होइन प्रस्ट पार्न निर्वाचन आयोगलाई पत्र लेखेको तर आयोगले समयमा जबाफ नदिएको दाबीसहित पत्र सार्वजनिक गरेसँगै आयोग आलोचनामा पर्यो । कार्कीले सर्वोच्चमा रिट दिएसँगै उम्मेदवारी कायमै राख्न दिएको अन्तरिम आदेश विरुद्ध आयोगले भ्याकेट निवेदन दिएको छ ।

अनुगमन संयन्त्रमा सेना प्रहरी
असोज १४ गते निर्वाचन आयोगले प्रेस अफिस सञ्चालनमा ल्यायो । सामाजिक सञ्जाल र सञ्चारमाध्यम अनुगमन गर्ने संयन्त्रमा सेना र प्रहरीको साइबर ब्यूरोका प्रतिनिधि राखेर सञ्चालन गरिएसँगै त्यसबारे प्रश्न उठ्यो । विज्ञहरु र सरोकारवालाको विरोध र असहमति पछि आयोग उक्त निर्णयबाट पछि हट्यो ।

आयोगका पछिल्ला केही निर्णय विवादित बन्ने र संशोधित हुने क्रम चल्नुले निर्णय प्रक्रियामा परिपक्कता नदेखिएको टिप्पणी समेत भइरहेको छ । हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने प्रवृत्तिको अन्त्य हुन नसके निर्वाचन र परिणाम सार्वजनिक हुँदासम्म नै आयोग अलमलमा नपर्ला भन्न सकिन्न ।