१६ चैत्र २०८०, शुक्रबार

सङ्कल्प पत्र : आफ्नै नेतृत्वमा सरकार र पाँच वर्षभित्र साढे १२ लाख रोजगारी

313031981 1284996625593785 5440836569850912683 n

समुन्नत नेपालको परिकल्पना र संविधानको रक्षा गर्दै आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अठोटका साथ नेपाली काँग्रेसले आगामी निर्वाचनका लागि चुनावी सङ्कल्प पत्र सार्वजनिक गरेको छ ।

‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिसहितको आधार: नेपाली काँग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने मूल नारासहित काँग्रेसले निरन्तरतामा नवीनता र समुन्नत नेपालको मार्गचित्रसहितका विषयवस्तु प्रस्तुत गरेको छ ।

काँग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशका लागि ल्याएको सङ्कल्प पत्रमा पाँच वर्षभित्र १२ लाख ५० हजार रोजगारी सिर्जना गर्ने र न्यूनतम वार्षिक सात प्रतिशतको आर्थिक
वृद्धिदर कायम गर्ने प्रतिबद्धता जनाएको छ ।

‘ओम्निबस’ आर्थिक सुधारको नयाँ चरण प्रारम्भ गर्दै अर्थतन्त्रमा स्वदेशी उत्पादनमूलक उद्योगको अंश पाँच दशमलव छ प्रतिशतबाट नौ प्रतिशत कायम गर्ने नीति लिइएको छ ।

काँग्रेसको प्रारम्भिक लक्ष्य तय गर्दै झन्डै ७५ वर्षअघि बिपी कोइरालाले कल्पना गर्नुभएको समुन्नत नेपालको अवधारणका आधारमा सङ्कल्प पत्र तयार गरिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

पुँजी सङ्ग्रह र आर्थिक वृद्धि महत्त्वपूर्ण साधन हुन् तर विकासको साध्य भनेको नागरिकको स्वतन्त्रता, सक्षमता र सबलीकरण नै हो भन्दै काँग्रेसले समुन्नत नेपाल बिपी कोइरालाकै समतामूलक समाजको परिकल्पनाको विस्तारित व्याख्यालाई सङ्कल्प पत्रमा उल्लेख गरेको छ ।
क्षेत्रगत प्राथमिक एजेन्डाका रुपमा समग्र शिक्षा प्रणालीलाई आर्थिक–सामाजिक रूपान्तरण गरी सबै नागरिकलाई सक्षम, सबल र स्वाभिमानी बनाउने काँग्रेसको लक्ष्य छ ।

गुणस्तरीय शिक्षाको सुनिश्चितता नभएको, प्राविधिक शिक्षा सबैको पहुँचमा नपुगेको र सूचना प्रविधिको तीव्र तर बदलिँदो अवस्था र प्रयोगलाई मध्यनजर गर्दै २१औँ शताब्दीले आत्मसात् गरेको सिकाइ पद्धति अपनाएर वर्तमान शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्ने काँग्रेसको प्रतिबद्धता छ ।
काँग्रेसले पाँच वर्षभित्र सिकाइको सङ्कटको मापन संस्थागत गर्ने, महिला (१५–२४ वर्ष) साक्षरता दर ९५ प्रतिशत पुर्‍याउने, इन्टरनेट सेवा पुगेका शैक्षिक संस्था ८० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ ।

कक्षा ११ मा भर्ना हुने दर कम्तीमा ५० प्रतिशत पुर्‍याउने, पाठ्यक्रममा प्राविधिक र व्यावसायिक सीप ४० प्रतिशत, पाठ्यक्रममा प्राविधिक र व्यावसायिक सीप ४० प्रतिशत बनाउने काँग्रेसले नीति अघि सारेको छ ।

विगतमा लिएको स्वास्थ्य नीतिका कारण नेपालले जनस्वास्थ्यका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको ठहर गर्दै काँग्रेसले गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको पहुँच स्थापित गर्न नेपालको संविधान र मुलुकको आवश्यकता अनुरूपको जनता केन्द्रित एकीकृत राष्ट्रिय स्वास्थ्य प्रणाली विकास गर्ने सङ्कल्प लिएको छ ।

‘तीन त्रिहत्तर’ को अवधारणा

काँग्रेसले पाँच वर्षको अवधिमा गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच अभिवृद्धि गर्दै सबैलाई स्वास्थ्य बिमा, सबल स्वास्थ्य प्रणालीको अवधारणासहित ‘तीन त्रिहत्तर’ को अवधारणा अघि सारेको छ ।

तीन वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरिने सङ्कल्प पत्र प्राविधिक मस्यौदा समितिका संयोजक अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले बताउनुभयो ।

नसर्ने रोगबाट हुने मृत्युदर एक तिहाइ घटाउने, औसत आयु ७३ बनाई, मातृ मृत्युदर ८० (प्रति एक लाख जीवित जन्म) पुर्‍याउने, स्वास्थ्य बीमित हुने सङ्ख्या शतप्रतिशत पुर्‍याउने, बिमा रकमको दायरा बढाई रु १० लाख पुर्‍याउने, बालकुपोषण २० प्रतिशत घटनाउने लक्ष्य लिएको छ ।

डिजिटलाइजेशन नीति

‘डिजिटल नेपाल: सुशासन र समुन्नतिको आधार’ भन्ने नाराका साथ काँग्रेसले सूचना प्रविधिलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्न, प्रविधिमा पहुँच पुर्‍याइ विशेष गरी युवा उद्यमी, अनुसन्धानकर्ता र समग्र निजी क्षेत्रको सृजनशीलता प्रवद्र्धन गर्ने उपयोग गर्ने नीति लिएको छ ।

नेपालको कूल गार्हस्थ्य उत्पादनमा अनुसन्धान तथा विकासको अंश ०।३ प्रतिशत रहेकोमा यसलाई बढाएर ०.७ प्रतिशत पु¥आइने भनिएको छ । निर्यातमुखी डिजिटलाइजेशन लगायत सूचना सञ्चार क्षेत्रमा दुई लाख युवा संलग्न गराइने उल्लेख छ ।

टेलिमेडिसिन केन्द्रको स्थापना र सातै प्रदेशमा सूचना ज्ञान पार्क स्थापना, सबै स्थानीय तहलाई उच्च गतिको इन्टरनेट नेटवर्कको पहुँच पुर्‍याउने सङ्कल्प पत्रमा उल्लेख छ ।

जलवायु परिवर्तन र वातावरण संरक्षणतर्फ सन् २०४५ सम्म शून्य कार्बन (नेट जिरो) लक्ष्यअनुरूप हरित अर्थतन्त्र रोडम्याप प्रारम्भ गर्ने, विद्युतीय सवारी साधन र चुलोको प्रयोग ५० प्रतिशत बनाउने, वन ढाकेको क्षेत्रफल कूल ४७ कायम गर्ने र जलवायु परिवर्तन अनुसन्धान केन्द्र स्थापना गर्ने लक्ष्य लिइएको छ ।

लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियाबाट जनताको भावनाअनुसार अग्रगामी आर्थिक–सामाजिक रूपान्तरण गर्ने लक्ष्यका साथ स्थापित काँग्रेसले समुन्नत नेपाल कुनै एक व्यक्तिको चमत्कारले होइन, सबै नागरिकको सामूहिक प्रयत्न र सहभागितामा तय गरिने राष्ट्र निर्माणको गतिशील यात्रा हो भनेको छ ।

पारस्परिक लाभको कूटनीति

छिमेकी मुलुक चीन र भारतको आर्थिक पुनरुदयसँगै पश्चिमा राष्ट्रको परम्परागत चासोका कारण आगामी दिनमा अन्तर्राष्ट्रिय भूराजनीतिक दबाब र प्रतिस्पर्धाको मञ्च एसिया–प्रशान्त क्षेत्र हुँदै जाने प्रक्षेपण गरेको काँग्रेसले दक्षिण एशियाको शिरमा रहेको नेपालले भूराजनीतिक द्वन्द्वमा नफसी पारस्परिक लाभको कूटनीति गर्नुपर्ने लक्ष्य लिएको छ ।

नेपालको भू–बनोटले ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधि जस्ता क्षेत्रमा व्यापक आर्थिक सम्भावना बोकेको उल्लेख गर्दै काँग्रेसले विश्वकै आर्थिक गुरुत्वाकर्षण एशियातिर सर्नु भनेको निर्यात, प्रत्यक्ष विदेशी लगानी, मध्यम वर्गीय पर्यटक र सहुलियतपूर्ण पुँजीको उपलब्धता विकास प्रयत्नका लागि अनुकूल रहेको सङ्कल्प पत्रमा उल्लेख गरेको छ ।

सङ्कल्प पत्रमा भनिएको छ, “अर्थतन्त्रका चार प्रमुख क्षेत्र वास्तविक, वित्तीय, मौद्रिक र बाह्य फाँटमा देखिएका प्रतिकूलतालाई आफ्नै वैचारिक धरातल, अभ्यास, जन्म, सिकाइ र अनुभव तथा निजी क्षेत्र र नागरिक समाजसँगको परामर्श एवं प्राज्ञिक शोध र अन्तर्राष्ट्रिय साझेदारको सल्लाहका आधारमा समाधान गर्नेछौँ ।”