७ बैशाख २०८१, शुक्रबार

बास्कोटा र हुमागाईँलाई स्वतन्त्रको चुनौती काभ्रे-२ मा

baskota humagae

आगामी प्रतिनिधि सभा र प्रदेशसभा चुनावका लागि उम्मेदवारले घरदैलो अभियान जारी राखेका छन् । उम्मेदवारहरू मतदाताको घरमा पुग्दा आफ्ना एजेन्डामा भन्दा बढी विपक्षीको आलोचनामा बढी केन्द्रित हुने गरेका छन् ।

काभ्रेपलान्चोक क्षेत्र नं. २ मा पनि अहिले प्रतिस्पर्धीहरुबीच आरोप प्रत्यारोप चल्न थालेको छ । यो क्षेत्रमा ३० उम्मेदवार भए पनि नेपाली काँग्रेसका शिवप्रसाद हुमागाईँ र नेकपा एमालेका गोकुल बास्कोटाबीच मुख्य प्रतिस्पर्धा छ । 

काभ्रे क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका शिवप्रसाद हुमागाईँ र नेकपा एमालेका गोकुल बास्कोटाबीचको प्रतिस्पर्धा रोचक छ । दुवै उम्मेदवार अहिले घरदैलो अभियानमा छन् ।

उनीहरू स्थानीय तहमा प्राप्त मत र आफूले यसअघि गरेको योगदानको हिसाबकिताब गरेर आफ्नो प्रचारमा छन् । दुवै उम्मेदवारले नयाँ योजना भने मतदातालाई दिन सकेका छैनन् । त्यसो त हुमागाईँ र बास्कोटा मात्र होइन, अरू उम्मेदवार पनि मतदातालाई फकाउन व्यस्त छन् । 

जिल्लामा आफूहरूले पुर्‍याएको योगदानको चर्चा आफ्ना कार्यकर्ता माझ गरिरहे पनि तटस्थ मतदाताले अहिलेसम्म कुनै धारणा तय गर्न सकेका छैनन् । मतदाताहरू अझै उम्मेदवारका ठोस एजेन्डाको पर्खाइमा देखिन्छन् । 

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा एमालेका गोकुलप्रसाद बास्कोटाले नेपाली काँग्रेसका मधुप्रसाद आचार्यलाई १९ हजार ५ सय मतान्तरले पराजित गरेका थिए ।

बास्कोटाले ५४ हजार ४२७ मत ल्याउँदा आचार्यले ३४ हजार ९२७ पाएका थिए । गत स्थानीय चुनावको परिणाम हेर्ने हो भने काभ्रे क्षेत्र नं. २ मा गठबन्धन दल ११ हजार मतले अगाडि छ । तर, उम्मेदवारका एजेन्डाले जुनसुकै निर्वाचनमा पनि मतसंख्या तलमाथि हुने भएकाले काभ्रेको निर्वाचनबारे पनि अहिले केही भन्न सकिने अवस्था छैन ।