१५ चैत्र २०८०, बिहीबार

दल र उम्मेदवार सशंकित हुँदा मतदाता दुविधामा

localElectionAllParties

राजनीति दल र उम्मेदवारहरु निर्वाचन प्रचार गर्न घरदैलोदेखि प्रशिक्षणसम्मका कार्यक्रममा जुटेका छन् । उनीहरुले मतदाता आकर्षित गर्न अनेक खालका प्रयत्न गरिरहेका छन् । मतदाताले एजेन्डा खोजिरहेको अवस्थामा सत्तापक्ष गठबन्धन दलको मत आफ्ना उम्मेदवारलाई पर्ने/नपर्नेमा त्रसित देखिन्छ । विपक्षी गठबन्धनको मुख्य घटक एमालेलाई आफ्नो गढ गुम्ने चिन्ता छ ।

निर्वाचन लक्षित गर्दै सत्ता गठबन्धनले सात वटै प्रदेशमा प्रशिक्षण गरिसकेको छ । उम्मेदवार घरदैलोमा पनि लागिसकेका छन् । तर गठबन्धनका शीर्ष नेता मात्र होइन, उम्मेदवारमा पनि एउटा पार्टीका कार्यकर्ताले अर्को पार्टीबाट उम्मेदवार भएकालाई मत हाल्दैनन् कि भन्ने मात्रै चिन्ता देखिन्छ ।

सत्ता गठबन्धनमा मात्र होइन, विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि मतदातासँग फोन संवाददेखि सामाजिक सञ्जालमा विभिन्न खालका गतिविधि गरेर जोडिने प्रयास गरिरहेका छन् । माओवादी केन्द्रसहितका अन्य दल तथा स्वतन्त्र उम्मेदवारले समेत पुराना कमजोरी नदोहोर्याउने भन्दै मत मागिरहेका छन् । तर मतदाताले विश्वास गर्न सकेको देखिँदैन ।

मतदाताले निर्वाचनमा देखाएको कम चासोलाई तिहार र छठको व्यस्तताका रुपमा हेर्न सकिए पनि त्यो मात्र होइन । गठबन्धन र तालमेलले सिर्जना गरेको अन्योलले नै मतदातालाई उत्साहित पार्न नसकेको हो । यति हुँदाहुँदै पनि नेताहरु भने परिस्थिति ठिकठाक रहेको तर्क गरिरहेका छन् ।

सत्ता गठबन्धन प्रशिक्षण गरेर चुनावी माहोल सिर्जना गर्ने प्रयासमा लागिरहँदा विपक्षी एमाले घोषणापत्र तयारीमै छ । उसले चुनाव केन्द्रित कार्यक्रम गरेको छैन । अहिले स्थानीय कमिटीले काम गरिरहेको र निर्वाचन आयोगले दिएको प्रचारको समयपछि मात्रै माहोल बन्ने दाबी एमाले नेताहरुको छ ।

निर्वाचन आयोग र राजनीतिक दलहरु चुनावी अभियानलाई तल्लो सम्म पुर्याउन जोडतोडले लागिरहेका छन् । तर दलहरु नै मुद्दामा केन्द्रीत नहुँदा र आफ्ना प्रतिबद्धतामा गम्भीर नदेखिँदा मतदाता भने उत्साहित बन्न सकेको देखिँदैन ।