६ बैशाख २०८१, बिहीबार

कन्जरभेटिभ पार्टीका नेता सुनक बेलायतको नयाँ प्रधानमन्त्री, बन्ने भयो इतिहास

Rishi Sunak

बेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बन्नु भएको छ ।

प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम समयमा कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री बन्नुभएको हो ।

प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनको भाग्योदय भएको हो । लिज ट्रस बेलायतको इतिहासमा सबैभन्दा कम समय सेवा गर्ने प्रधानमन्त्री बन्नुभएको छ ।

मन्त्रिपरिषद्का एक जना सदस्यलाई बर्खास्त गरेपछि उहाँले चर्को आलोचना खेप्नु परेको थियो । साथै उहाँको कार्यकालमा बेलायतको मुद्रा अवमूल्यन भएको थियो

गत बिहीबार उहाँले राजीनामा दिएपछि ऋषि सुनक र पूर्वप्रधानमन्त्री बोरिस जोनसन नयाँ प्रधानमन्त्रीको दौडमा हुनुहुन्थ्यो । तर बोरिस जोनसनले आफूलाई आवश्यक समर्थन रहेको दाबी गरे पनि पछि कन्जरभेटिभ पार्टीको नेतृत्व दौडबाट उहाँ बाहिरिनुभएको थियो ।

नयाँ प्रधानमन्त्री सुनक पूर्वी अफ्रिकाबाट बेलायतमा बसाइँ सर्नुभएका भारतीय मूलका आमाबाबुका सन्तान हुनुहुन्छ । उहाँ हिन्दु धर्मावलम्बी हुनुहुन्छ । अक्सफोर्ड र स्ट्यानफोर्ड विश्वविद्यालयका पूर्व छात्र सुनकले इन्फोसिसको संस्थापक प्रख्यात अर्बपति व्यापारी नारायण मूर्तिकी छोरी अक्षता मूर्तिसँग विवाह गर्नुभएको छ ।

को हुन् बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनक ?

ब्रिटेनको पहिलो एसियाली मूलका प्रधानमन्त्री हुनेछन् ।

उनी २०१५ मा ३५ वर्षकै उमेरमा सांसद बनेका थिए । त्यसको ७ वर्षमै उनी प्रधानमन्त्री बन्ने भएका छन् । उनी भारतीय उद्योगपति इन्फोसिस कम्पनीका संस्थापक एनआर नारायण मूर्तिका ज्वाइँ हुन् । उनले २००९ मा अक्षता मूर्तिसँग बिहे गरेका थिए ।

ऋषि सुनक, बोरिस जोन्सनको मन्त्रिपरिषदमा वित्तमन्त्री थिए । उनले प्रधानमन्त्री बनेपछि देशको अर्थ व्यवस्था मजबुत बनाउने प्रतिवद्धता जनाएका छन् ।

ऋषि योर्कासायरको रिचमण्डबाट सांसद चुनिएका थिए । उनी भारतीय मूलको तेस्रो पुस्ता हो । उनका हजुरबुवा–हजुरआमा भारतको विभाजनअघि पाकिस्तानी पञ्जाबको गुजरावाला शहरबाट पूर्वी अफ्रिका गएका थिए । लामो समय त्यहाँ बसेर इंगल्याण्डको साउथह्याप्टन आएर बसे ।

उनका पिता यशवीर सुनक डाक्टर हुन् भने आमा उषा सुनक फार्मासिस्ट हुन् । उनकी पत्नी अक्षता मूर्ति बेलायतकै सबभन्दा धनी महिलाहरुको सूचीमा पर्छिन् । उनी पत्नीको करसम्बन्धी विवादमा परेका थिए भने लकडाउनको नियम उल्लंघन गरेकोमा जरिवाना तिर्नु परेको थियो ।

उनले एसियाली पहिचान आफ्ना लागि अर्थपूर्ण भएको बताउने गरेका छन् । आफ्नो वेबसाइटमा ऋषिले लेखेका छन्, ‘मेरा मातापिताले धेरै त्याग गरेका छन्, ताकि म राम्रो स्कुल जान सकुँ । म भाग्यमानी थिएँ कि मैले विनचेष्टर कलेज, अक्सफोर्ड विश्वविद्यालय र स्टेनफोर्ड विश्वविद्यालयमा अध्ययन गर्ने मौका पाएँ ।’

अक्सफोर्डमा दर्शन, राजनीति र अर्थशास्त्रको पढाइ गरेका उनी राजनीतिमा आउनु अगाडि उनले बैंकमा काम गरेका थिए । उनले युरोपियन युनियनबाट अलग हुने नहुने बारे भएको जनमत संग्रहमा पक्षमा प्रचार गरोक थिए र उनको संसदीय क्षेत्रमा ईयू छाड्ने पक्षमा ५५ प्रतिशत जनताले मत दिएका थिए ।

बेलायतमा प्रधानमन्त्रीपछि वित्तमन्त्री पद दोस्रो ठूलो मानिन्छ । वित्त मन्त्रीका रुपमा उनले राम्रो काम गरेका कारण पनि भावी प्रधानमन्त्रीका रुपमा हेर्न थालिएको थियो ।
उनी ६ साता पहिले पनि प्रधानमन्त्रीको दौडमा थिए । बोरिस जोनसनले राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीका लागि उनले पनि दाबी गरेका थिए । तर लिज ट्रस प्रधानमन्त्री बनिन् । उनले ४५ दिनमै राजीनामा दिएपछि ऋषि फेरि दौडमा आए ।

यो पटक बोरिस जोनसन फेरि प्रधानमन्त्री बन्न चाहेको चर्चा थियो, जेरेमी हन्टको नाम पनि आएको थियो । तर दुबै प्रधानमन्त्रीको दौडमा औपचारिक रुपमा सहभागी भएनन् ।

पेनी मोर्डन्टले आधिकारिक रुपमा दाबी पेश गरेकी थिइन् । तर अन्तिम समयमा आफ्नो दाबी फिर्ता लिएपछि ऋषि एसियाली मुलका पहिलो बेलायती प्रधानमन्त्री बन्ने पक्का भयो । सर ग्राहम ब्रेन्डीले यसको औपचारिक घोषणा गरे ।

ऋषि बेलायतको प्रधानमन्त्री हुनुलाई कतिपयले २००८ मा बाराक ओबामा अमेरिकाको राष्ट्रपति बन्नु जस्तै भएको बताएका छन् ।

बन्ने भयो इतिहास

सन् २००८ मा अमेरिकामा बाराक ओबामा राष्ट्रपति निर्वाचित हुँदा जस्तै ऋषिको प्रधानमन्त्री बन्नु ऐतिहासिक क्षण हुने धेरै विज्ञहरू बताउँछन्। सुनकभन्दा अगाडि पनि दक्षिण एसियाली मूलका नेताहरू ठूलो पदमा पुगिसकेका छन्। प्रिति पटेल बेलायतको गृहमन्त्री र सादिक खान लण्डनका मेयर बनेका छन्।

तर, अहिलेसम्म एसियाली मूलका कोही पनि प्रधानमन्त्री पदको दावेदार बनेका थिएनन्। राजनीतिक विश्लेषकहरूका अनुसार ऋषिको उदय एसियाली समुदायहरूको सफलतासँग जोडिएको छ। ऋषिजस्ता नेताको उदयका कारण नै बेलायती समाजमा विविधता आएको उनीहरुको भनाइ छ।

लण्डनस्थित मिडलसेक्स विश्वविद्यालयमा पढाउने डा निलम रैना भन्छिन्, ‘यो ऐतिहासिक त हुनेछ नै किनभने भारतको तुलनामा संसद्मा धार्मिक र जातीय अल्पसंख्यक समुदायको प्रतिनिधित्व धेरै छ। तर, तिनीहरूको फरक जातीय पहिचान भएकाले यो ऐतिहासिक हुनेछ।’

ऋषि भारतीय मूलका तेस्रो पुस्ता हुन्। उनका हजुरबा हजुरआमा भारतको विभाजनअघि नै पाकिस्तानी पञ्जाबको गुजरनवाला सहरबाट पूर्वी अफ्रिका बसाइ सरेका थिए। धेरै वर्ष पछि, उनीहरु इङ्गल्याण्डको साउथह्याम्पटन शहरमा बसोबास गरे। जहाँ ऋषि सुनकको जन्म १९८० मा भएको थियो। उनी सोही शहरमा हुर्केका थिए।

प्रधानमन्त्री देउवाद्वारा नेता सुनकलाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएकामा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत उहाँलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन उहाँसँग काम गर्न आफू तत्पर रहेको उल्लेख गर्नुभएको छ ।

बेलायतका प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयन हुन लागेको हो । सन् १९८० मा साउथह्याम्पटनमा जन्मिनुभएका सुनकका बाबु आमा दुवै भारतीय मूलका हुनुहुन्छ । उहाँहरु पूर्वी अफ्रिकाबाट बेलायत आउनुभएको हो ।