१३ बैशाख २०८१, बिहीबार

कस्ताकस्ता कीर्तिमान कायम भए नवौं राष्ट्रिय खेलकुदमा ?

10 th khelkud karnali1666316000

गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाडीका लागि धेरै अर्थमा महत्वपूर्ण भएको छ । ७ दिनसम्म चलेको प्रतियोगिताका विभिन्न खेलमा बनेका राष्ट्रिय कीर्तिमानका कारण पनि नवौं संस्करण विशेष भएको हो ।

नवौं राष्ट्रिय खेलकूदमा भारोत्तोलनमा ५ राष्ट्रिय कीर्तिमान बने । जसमा विभागीय टोली पुलिसकै खेलाडीहरु सफल रहे । पुलिसकी विद्या राईले महिला ८७ केजीमाथि तौल समुहको स्न्याचतर्फ ७६ केजी भार वहन गर्दै कीर्तिमान बनाइन ।

स्न्याचमा यसअघि ७५ केजीको कीर्तिमान रहेकोमा विद्याले १ केजी बढी भार उठाइन । उनले क्लीन एण्ड जर्कमा ८८ गरी कुल १६४ केजी भार बहन गर्दै स्वर्ण जितिन् ।

पुलिसकै विशालसिंह बिष्टले पुरुष ९६ केजी तौल समुहको क्लीन एण्ड जर्कमा राष्ट्रिय कीर्तिमान कायम गरे । क्लीन एण्ड जर्कमा १६१ केजी वजन उठाएका उनले स्न्याचमा १२० गरी कुल २८१ केजी तौल उठाउँदै स्वर्ण जिते ।

पुलिसकै सन्देश गुरुङले पुरुष १०२ केजी तौल समुहको स्न्याचमा कीर्तिमान बनाए । उनले स्न्याचमा ११३ केजी भार उठाएका थिए । उनले क्लीन एण्ड जर्कमा १३९ सहित कुल २५२ केजी भार उठाउँदै स्वर्ण जिते ।

पुलिसले ३ वटा राष्ट्रिय कीर्तिमान बनाउँदा आर्मीका तुलाराम महतोले पुरुष ५५ केजी तौल समुहको क्लीन एण्ड जर्क १०२ केजी र कुलमा १८९ केजी उठाउँदै २ वटा राष्ट्रिय कीर्तिमान बनाए । उनले स्न्याचमा ८७ केजी भार वहन गरे ।

एथ्लेटिक्सतर्फ ९ वटा राष्ट्रिय कीर्तिमान बनेकामा ५ वटा आर्मीको नाममा रह्यो । एपिएफले २, पुलिस र कर्णालीले १.१ कीर्तिमान बनाए । महिलातर्फ आर्मीकी जयरानी थारु एक्लैले ३ वटा राष्ट्रिय कीर्तिमान बनाइन् ।

उनले हर्डल्सको १०० र ४०० मिटर तथा लङजम्पमा कीर्तिमान आफ्नो नाममा लेखाइन् । १०० मिटर हर्डल्समा आफ्नै कीर्तिमान सुधार गरेकी उनले हिट चरण १५.१६ सेकेन्डमा पुरा गर्दै कीर्तिमान सुधार गरेकी हुन् । त्यस्तै, ४०० मिटर हर्डल्स १ मिनेट ०४.१३ सेकेण्डमा पुरा गरे । लङजम्पतर्फ ५।५८ मिटर जम्प गर्दै अर्को कीर्तिमान पनि आफ्नै नाममा लेखाईन् ।

महिलातर्फनै ज्याभ्लिन थ्रोमा पुलिसकी चन्द्रकला लाम्गाडेले ४७.६० मिटर थ्रो गर्दै नयाँ कीर्तिमान कायम गरीन् । यसअघि आर्मीकी लक्ष्मी थारुले ४५.२७ मिटर थ्रो गर्दै बनाएको कीर्तिमान चन्द्रकलाले भंग गरेकी हुन् । महिला ४०० मिटर दौड एपिएफकी रमिताकुमारी थारुले ५८.१० सेकेण्डमा पुरा गर्दै कीर्तिमान आफ्नो बनाइन् ।

एथ्लेटिक्सकै पुरुषतर्फ आर्मीका दीपक अधिकारीले १० हजार मिटर दौड ३० मिनेट १०.३० सेकेण्डमा पुरा गर्दै कीर्तिमान बनाए । आर्मीकै सोमबहादुर कुमालले ४०० मिटर दौड ४७.९५ सेकेण्डमा पुरा गर्दै राष्ट्रिय कीर्तिमान बनाए । एपिएफका सलिम देवानले लङजम्पमा ७.०६ मिटर फाल हान्दै नयाँ कीर्तिमान बनाए ।

कर्णालीका दुर्गाबहादुर बुढाले ३ हजार मिटर स्टिपल चेजमा निर्धारित दुरी ८ मिनेट ५५।१९ सेकेन्डमा पुरा गर्दै कीर्तिमान आफ्नो नाममा लेखाए । यसअघि सन् २००४ मा पाकिस्तानको इस्लामावादमा राजेन्द्र भन्डारीले ८ मिनेट ५७.३० सेकेन्डको कीर्तिमान बनाए ।

पौडीतर्फ यस पटक आर्मीका नासिर याह्या हुसेन र दुवाना लामा सर्वाधिक सफल रहे । पुरुषतर्फ टिम स्पर्धासहित आर्मीले ७ कीर्तिमान बनाउँदा नासिरले मात्र ५ कीर्तिमान आफ्नो नाममा लेखाए । नासिरले ४०० मिटर फ्रिस्टाईल, १००, २००, १५ सय मिटर बटरफ्लाई र २०० मिटर इन्डिभिजुअल मिड्लेमा कीर्तिमान बनाए । त्यस्तै, आर्मीकै एलेक्जेण्डर शाहले ५० मिटर ब्याकस्ट्रोक र १०० मिटर फ्रिस्टाईलमा कीर्तिमान सुधार गरे । एनआरएनका आशिष सापकोटाले २०० मिटर बटरफ्लाई र ब्रेष्टस्ट्रोक गरि २ कीर्तिमान बनाए । एपिएफका तेन्जिङ नामडोल रायन गुरुङले २०० मिटर ब्याकस्ट्रोकमा कीर्तिमान बनाउँदा प्रदेश १ का विकास कुमालले १०० मिटर ब्रेष्टस्ट्रोकमा कीर्तिमान कायम गरे ।
महिलातर्फ कुल ५ कीर्तिमान बन्दा आर्मीकी दुवाना लामाको नाममा ४ कीर्तिमान रह्यो । दुवानाले ५०, १०० र २०० मिटर ब्रेष्टस्ट्रोक तथा २०० मिटर इन्डिभिजुअल मिड्लेमा कीर्तिमानसहित स्वर्ण जितिन् । अर्को १ कीर्तिमान एनआरएनएकी एश्ले सापकोटाको नाममा रह्यो । उनले १०० मिटर बटरफ्लाईमा कीर्तिमानसहित स्वर्ण जितेकी हुन् ।

यी सबै कीर्तिमान सर्टकोर्समा बनेका कीर्तिमान हुन् । प्रतियोगितामा पौडीको प्रतिस्पर्धा फिस्टेल एकेडेमीको सर्ट कोर्समा खेलाइएको थियो । लगातार कीर्तिमान बनेपछि २५ मिटरको भनिएको पोखरीको लम्बाइप्रति आशंका भयो । परीक्षण गर्दा मापदण्डभन्दा ९ सेन्टिमिटर कम पाइयो । अन्तर्राष्ट्रिय पौडी महासंघ फिनाको नियम अनुसार प्रतियोगितका लागि पौडी पोखरीको लम्बाइ ३ सेन्टिमिटर घटिबढी भने हुन सक्छ । तर यस प्रतियोगितामा बनेका कीर्तिमानलाई भने नेपाल पौडी संघले मान्यता दिएको छ ।