७ बैशाख २०८१, शुक्रबार

जसले राष्ट्रिय खेलकुदमा लगातार पाँच स्वर्ण जिते

1651896134 9th National game maskat Logo

आइटिएफ तेक्वान्दोका लीलाधर बस्नेतका लागि नवौँ राष्ट्रिय खेलकुद पनि सुखद् रह्यो । विभागीय टिम नेपाल आर्मीका लागि खेलेका उनले दुई स्वर्ण पदक जिते । यहाँ भएको प्रतियोगितामा ६५–७० किलो तौल समूहको एकल स्पाइरिङ र टिम स्पाइरिङबाट बस्नेतले स्वर्ण हात पारेका हुन् ।

विसं २०६४ देखि खेल जीवन सुरु गरेका बस्नेतले विसं २०७३ मा भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो स्वर्ण जितेका थिए । त्यस यताका दुई राष्ट्रिय खेलकुदमा पनि उनले आफ्नो अपराजित यात्रालाई कायमै राखे । नेपालगञ्जमा भएको आठौँमा पनि बस्नेतले दुई स्वर्ण पदक हाँसिल गरेका थिए । दाङ घर भएका उनी १८ वर्षदेखि नेपाल आर्मीमा आबद्ध छन् । ३८ वर्षीय उनले यसअघि आइटिएफको साउथ एसियन च्याम्पियनसीपमा पनि दुई स्वर्ण जितेका थिए । अङ्ग्रेजी वर्ष २०१२ र २०१८ मा भएको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक पाएको बस्नेतले सुनाए ।

सकारात्मक ऊर्जा, खेलप्रतिको समर्पण र देशका लागि खेल्ने इच्छाशक्तिका कारण खेलमा आफू पछाडि फर्कन नपरेको बस्नेतले बताए । “लक्ष्य त अन्तर्राष्ट्रिय पदकसम्मको हुन्छ, टिमले पनि त्यसरी नै मेहनत गरेको हुन्छ”, उनले भने, “राष्ट्रिय प्रतियोगिता जित्नु पनि हाम्रा लागि लागि महत्त्वपूर्ण छ, खेल जीवनमा यसले ठूलो अर्थ राख्छ ।” ऊर्जा, उमेर र स्वास्थ्यले साथ दिँदासम्म खेलमै रहने बस्नेतले बताए । नेपाल आर्मी जस्तो प्रतिष्ठित टिमबाट राष्ट्रिय खेलकुदमा भाग लिन पाउँदा गौरवको अनुभूति हुने गरेको उनले सुनाए । उनीसहितका खेलाडीको उत्कृष्ट प्रदर्शनकै बलमा आर्मी नवौँ राष्ट्रिय खेलकुदमा पनि च्याम्पियन बन्न सफल रह्यो ।

आर्मीकै अर्का खेलाडी भीमबहादुर तामाङले अहिलेकै प्रतियोगितामा चार स्वर्ण हात पारेका थिए । एकल प्याटर्न, टिम प्याटर्न, एकल स्पाइरिङ र टिम स्पाइरिङमा उनले आर्मीलाई स्वर्ण दिलाएका हुन् । एकल स्पाइरिङमा ७६–८० किलो तौल समूहमा तामाङले प्रतिस्पर्धा गरेका थिए । आर्मीकी निकिता धिमालले पनि अहिलेको प्रतियोगितामा दुई स्वर्ण पदक जितिन् । टिममा बस्नेत, तामाङ र धिमालजस्तै सक्षम तथा प्रतिभाशाली खेलाडी भएकै कारण आर्मी लगातार आइटिएफ तेक्वान्दोमा च्याम्पियन बन्दै आएको छ । सातौँ राष्ट्रिय खेलकुदमा १७ र आठौँमा १६ स्वर्ण पदकसहित आर्मी नै पहिलो बनेको थियो ।

बिहीबार सकिएको नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आइटिएफ तेक्वान्दोमा छ स्वर्ण, तीन रजत र तीन कांस्य जितेर बागमती प्रदेशले दोस्रो स्थान बनायो । तेस्रो स्थान हासिल गरेको गण्डकी प्रदेशले पाँच स्वर्ण, आठ रजत र दुई कांस्य पदक जित्यो । प्रदेश नं तीन स्वर्ण, दुई रजत र पाँच कांस्य पदक हात पा¥यो । लुम्बिनी प्रदेशले एक स्वर्ण, तीन रजत र आठ कांस्य पायो ।

सशस्त्र प्रहरी बलले एक स्वर्ण, तीन रजत र दुई कास्यमा चित्त बुझायो । कर्णाली प्रदेशले दुई रजत र दुई कास्य पदक हात पा¥यो । नेपालले पुलिसले चार कास्य पदक जित्दा मधेश प्रदेशले एउटा मात्र कांस्य पदकमा सीमित भयो । सुदूरपश्चिम प्रदेशले कुनै पनि पदक जित्न सकेन । आइटिएफ तेक्वान्दोमा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

    सम्बन्धित समाचार...