७ बैशाख २०८१, शुक्रबार

‘पाल्पाका किसानलाई फड्के कीराको समस्याले सधैँ पिरोल्छ’

dhanbali chhyati 1

रम्भा गाउँपालिका–१ सगाहाका रमेश रानाभाटको धान खेतमा यस पटक फड्के कीराले सखापै पार्ने गरी सतायो ।

वर्ष दिनभर परिवार पाल्न दुःखसँग खेती गर्नुभएका उहाँ खेतभरि झुलेका धानबालीमा यस पटक कीराको समस्याले चिन्तित हुनुुहुन्छ ।

“दुःख गरेर धान लगाइयो अब त भकारीमा स्याहार्ने बेला भयो भनेर उत्साहित भएको सखापै पार्ने गरी किराले सतायो, कहिले गबारो कहिले फड्के कीरालगायतका विभिन्न समस्याले किसानलाई सधैँ पिरोल्छ”, उहाँले गुनासो पोख्नुभयो । वर्षा सकिएपछि हालै काटेको धान बालीमा पनि प्रकोप फैलिँदा स्याहार्नै नपर्ने अवस्था भएपछि खेतमै पाँजासहित आगोमा जलाएर नष्ट गर्नुपरेको उहाँ बताउनुहुन्छ । करिब छ रोपनी क्षेत्रफलमा लगाइएको धानबाली राम्रै भएपछि स्याहार्ने समयमा फड्के किराको समस्याले क्षति पुगेको छ ।

पाँच जनाको परिवारलाई वर्ष दिन खान पुग्ने सो जग्गामा लगाइएको धान यस पटक नोक्सान हुँदा परिवार कसरी पालिने भन्ने चिन्ताले उहाँलाई रातदिन सताएको छ । गत वर्ष काटेको धान वर्षाले डुबानमा परी नोक्सानी उहाँले बेहोर्नुप¥यो । क्षतिपूर्तिका लागि गाउँपालिकाले विवरण सङ्कलन गरे तापनि पहुँचवालालाई नै वितरण गरेर आफूलाई विभेद गरेको उहाँको गुनासो छ ।

सगाहाको नौसय मुरी खेतभरि नै सो कीराले सताएको अगुवा कृषक ऋषिराम अर्याल बताउनुुहन्छ । उहाँका अनुसार गत वर्ष यस क्षेत्रमा फ्याट्टफुट्ट रुपमा देखिँदा खासै धानमा असर परेन तर यस पटक ठूलै क्षति हुने गरी फैलिएको छ । आफूले लामो समयदेखि धान लगाउँदै आएको भए पनि यस पटकजस्तो महामारीको रुपमा फड्के कीराको प्रकोप विगतका वर्षमा नरहेको अर्यालको भनाइ छ ।

जिल्लाको हुँगी, अगाहाखोला क्षेत्रमा करिब ७० रोपनीमा फड्के कीराको समस्या फैलिएपछि स्थलगत निरीक्षणपश्चात् कार्यालयबाट नियन्त्रणका लागि विषादी उपलब्ध गराइएको कृषि ज्ञानकेन्द्रका प्रमुख कामना अधिकारी बताउनुहुन्छ । “धानबालीमा लाग्ने प्रकोपमध्ये यो सबैभन्दा खतरनाक किरा हो, यस वर्ष पानी धेरै परेकाले प्रकोप फैलिएको छ, समयमा नै पहिचान भई उपचार गरेमा नियन्त्रणमा ल्याउन सकिन्छ”, उहाँ भन्नुहुन्छ ।

काटिसकेको धान भए धेरै क्षति हुन्थ्यो तर काट्न बाँकी रहेका धान भएकाले क्षति कम हुने उहाँ बताउनुहुन्छ । कीराको समस्या देखिएमा किसानलाई पालिका तथा कृषि ज्ञान केन्द्रका प्राविधिकसँग सम्पर्क गर्न उहाँको अनुरोध छ ।

रामपुर नगरपालिकाका विभिन्न स्थानमा समस्या भेटिएपछि स्थलगत रुपमा अवलोकनपश्चात् विषादी छर्कन् कृषकलाई सुझाव दिइएको शाखा प्रमुख रामहरि पाण्डेय जानकारी दिनुहुन्छ । यस क्षेत्रमा एक हप्तादेखि यस कीराको समस्याका सम्बन्धमा कृषक गुनासो राख्न आउने गरेपछि निःशुल्क विषादी उपलब्ध गराउँदै आएको शाखा प्रमुख पाण्डेयले बताउनुहुन्छ ।

विशेष गरी अलि गहिरो, पानी जम्ने, गाँजको घनत्व बढी भएको जग्गामा पानी परेपछिको सापेक्षित आद्रता उच्च हुन गई यस कीराको समस्या बढ्न गएको अनुमान लगाउन सकिन्छ । वयस्क २.५ देखि ३.४ मिलिमिटर लामो हुन्छ र शरीर कुनै खैरो, कुनै सेता र कुनै हरिया रङका फुत्तफुत्त उफ्रने किसिमका मसिना कीरा हुन्छन् ।

यो कीरामा साना र ठूला पखेटा दुवै थरीका हुन्छन् । यसको मझौला पिठ्युँ खण्डमा तीन खैरा धर्साहरु हुन्छन् । शिशु फड्केको भने खैरो शरीर हुन्छ । धानका बिरुवा मर्दछन्, बिरुवा गाँजिन र बढ्न सक्दैनन्, धानको बोटमा बाला नलागी परालजस्तो भई बोट सुकेर जान्छ, यसको लक्षण जग्गाको कुनै एक ठाउँबाट सुरु भई फैलिँदै जान्छ ।

रोकथामका उपाय
उपयुक्त जातको छनोट गर्ने, ढिलो लगाइएको भन्दा छिटो लगाइएको र ढिलो पाक्नेभन्दा छिटो पाक्ने धान बालीमा फड्के कीराको प्रकोप कम भएको पाइएको छ । गाँजको घनत्व काम गर्ने, धान रोप्ने समयमा प्रतिगाँजमा दुई–तीन वटाभन्दा बढी बेर्ना नरोप्ने गरेमा रोकथाम गर्न सकिन्छ ।

त्यस्तै नाइट्रोजनयुक्त मलखादको उचित प्रयोग गर्ने, तीन चार दिनको फरकमा खेतमा पानीको सतह बढाउने घटाउने र सुकाउने गर्ने, (पाकेर काट्ने बेलाको धानमा पानी सुकाउने) अन्तिम विकल्पको रुपमा रासायनिक विषादीको प्रयोग गर्ने, एजाडिरिक्टीन २.३ मिलिलिटर, बुफ्रोफेजीन एक मिलिलिटर, इमिडाकोल्प्रिड ०.५ ग्राम र निटेनपाइरम एक मिलिलिटर प्रतिलिटर पानीमा मिसाइ फेदमा पर्ने गरी एक हप्ताको फरकमा छर्कनुपर्दछ । विषादी छर्कदा धानको बिरुवा माथिबाट होइन बिरुवाको फेदमा पर्ने किसिमले छर्कनुपर्दछ । धानको फूल फुलेको अवस्थामा विषादी छर्कनुहुँदैन ।