१३ बैशाख २०८१, बिहीबार

पुराना फिल्म नयाँ प्रविधिमा हेर्न पाइने

Kumari and Aama Poster New Film

नेपालमा फिल्म निर्माण (पोष्ट प्रोडक्सन), छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ । नेपालमा ‘डिजिटल यात्रा’ को सुरुवात भूषण दाहाल निर्देशित ‘कागबेनी’ र आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’ को निर्माण र प्रदर्शनसँगै भएको थियो ।

सन् २००८ मा क्वेष्ट इन्टरटेनमेन्टले निर्माण गरेका यी दुई फिल्मसँगै डिजिटल प्रविधि भित्रिएको र निर्माण सहज, व्यवस्थित तथा व्यावसायिक भएको फिल्मकर्मी बताउँछन् ।

प्रविधि डिजिटलमय भएसँगै चलचित्र विकास बोर्डले पुराना फिल्मलाई संरक्षण र सुरक्षित गर्ने उद्देश्यले डिजिटाइजेशन तथा रेष्टोरेशन गरेको छ । सेल्युलाइड प्रविधिमा रहेका महत्वपूर्ण फिल्म आमा, के घर के डेरा, बदलिँदो आकाश, जीवनरेखा, सिन्दूर, कुमारी, मनको बाँध, परिवर्तन, हिजोआज भोलि र शान्तिदीपलाई डिजिटाइजेशन गरेर सुरक्षित राखेको बोर्डका चलचित्र सङ्ग्रहालय, सूचना तथा अन्तर्राष्टियसम्बन्ध अधिकृत चिरन्जीवी गुरागाईंले जानकारी दिएका छन् ।

डिजिटाइजेशन गरेसँगै ती फिल्म अंग्रेजी भाषामा सबटाइटल पनि गरिएको छ । ‘डिजिटाइजेसनसँगै ती फिल्मका रिल रेष्टोरेशन (पुरानोलाई नयाँजस्तै बनाउने) गरेर राखिएको छ । रेष्टोरेशनले एट के (आधुनिक प्रविधि) वा अन्य विकसित गुणस्तरमा स्तरोउन्नति गर्न सकिनेछ । हामीले सरकारी लगानीमै निर्मित १५ घण्टा बराबरको ९० डकुमेन्ट्रीसमेत डिजिटाइजेशन गरेका छौँ,’ उनले भने ।

रेष्टोरेशन गर्दा रिल कोरिएको, प्वाल परेको, टाँसिएको लगायतको ड्यामेजलाई हरेक दृश्यमा काम गरेर नयाँ जस्तै बनाइन्छ । त्यसलाई डिजिटल प्रविधिमा ल्याएपछि सङ्ग्रहित गरिन्छ । पहिलो चरणमा तत्कालीन शाही नेपाली चलचित्र संस्थान र सूचना मन्त्रालयको सरकारी लगानीमा बनेका फिल्मलाई डिजिटाइजेशन गरिएको छ । डिजिटाइजेशन भएपछि १६ एमएम र ३५ एमएमका ती फिल्म टु के र फोर के (आधुनिक प्रविधि) ढाँचामा छन् ।

नेपालमा फिल्मको इतिहासलाई आम सर्वसाधारणसम्म पुर्याउन चलचित्र सङ्ग्रहालयको स्थापना गर्ने प्रक्रियाको थालनी भएको बोर्डले जनाएको छ । अधिकृत गुरागाईंका अनुसार साउथ एसियाका देशमध्ये छिमेकीमुलुक भारतपछि सफलतापूर्वक डिजिटाइजेशन तथा रेस्टोरेशन गर्ने देश नेपाल हो । पहिलो बोर्ड अध्यक्ष यादव खरेलको सक्रियतामा नेपाल टेलिभिजनमा राखिएका रिललाई सफाइ गरेर बोर्डमा अर्काइभ गरी राख्ने अवधारणा ल्याएपछि डिजिटाइजेशनको सुरुवात भएको अधिकृत गुरागाईंले बताए ।

उनले भने ‘फिल्म सर्वसाधारणलाई देखाउने कार्यविधि निर्माण गर्ने तयारीमा बोर्ड छ । हामी स्वदेशसँगै विदेशमासमेत प्रदर्शन गर्ने तयारीमा छौँ ।’ सन् २०२१ को मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा डिजिटाइजेशन गरिएको दुई फिल्म आमा र कुमारी प्रदर्शन गरिएको थियो । विसं २०७५ भदौ २८ सम्झौता गरेर २०७६ फागुन ८ गते डिजिटाइजेशन र रेष्टोरेशनको कार्य भारतको चेन्नईस्थित श्रीप्रसाद कर्पोरेशन प्रालिको प्रसाद ल्याबमा सम्पन्न भएको थियो ।