६ बैशाख २०८१, बिहीबार

मानवीय संवेदनशीलताको प्रश्न काठमाडौं महानगरको अभियानमा ?

Sarmila Tamang 1

काठमाडौंमा महानगरपालिकाले फुटपाथ पसल र अवैधानिक संरचना हटाउने मात्र होइन, भूमिगत पार्किङ खोज्ने र बक्यौता उठाउने कामलाई तीव्र बनाएको छ ।

महानगरपालिकाले गरेको कामलाई लिएर समाज भने विभाजित छ । यही कारण नेतृत्व विवादमा समेत तानिने गरेको छ । महानगरमाथि कानुन तथा योजना कार्यान्वयनमा संवेदनशील नभएको र वैकल्पिक व्यवस्थातर्फ ध्यान नदिएको आरोप लागेको छ ।

लमजुङ घर भई हाल थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएकी शर्मिला तामाङले २ वर्षदेखि सडक पेटीमै व्यापार गर्दै आएकी थिइन् । महानगरपालिकाले फुटपाथका पसल हटाउने क्रममा बिहीबार तामाङको ठेला जफत गर्यो । ठेला फिर्ता ल्याउन उनी महानगरकै गाडीमा गइन् र रोइकराई गरिन् ।

पछिल्लो समय उनको कारूणिक दृश्यले सामाजिक सञ्जालदेखि सञ्चार–माध्यममा स्थान मात्र पाएको छैन, काठमाडौं महानगरपालिकाले आफ्ना अभियान चलाउँदा मानवीय संवेदनाको वेवास्ता गरेको टिप्पणीसमेत भइरहेको छ । विकल्प विनै महानगरले रोजीरोटी खोसिदिएको आरोप फुटपाथका व्यापारीको छ ।

महानगरले अवैध संरचना हटाउने र भूमिगत पार्किङ खोज्ने कामलाई पनि तीव्र बनाइएको छ । यसबीचमा महानगरले पहिचान गरेका अवैध संरचना भत्काइएका छन् भने नक्सामा पार्किङ देखाइएका केही भूमिगत पार्किङ पनि पहिचान भएका छन् । तर विना तयारी काठमाडौंको टुकुचा खोज्ने महानगरको काम विवादमा परेको छ ।

आवश्यक अध्ययन, राहत र उचित क्षतिपूर्ति विनै व्यक्तिको सम्पतिमाथि हस्तक्षेप गरिएको विषयमा महानगर नेतृत्व आलोचित छ । यस विषयको विवाद अदालतमा पुगेको छ । नगर प्रमुख बालेन्द्र शाहले लिएको अग्रसरतामा परिपक्वता भने नदेखिएको सरोकारवालाको बुझाइ छ ।

काठमाडौं महानगरले गत भदौदेखि फुटपाथमा सञ्चालित ब्यापार हटाउने अभियाननै सञ्चालन गरेको छ । त्यसले अधिकांश ठाउँको फुटपाथ खुला हुँदा पैदलयात्रुलाई सहज पनि भएको छ । तर भत्काइएका संरचना लथालिंग छाडिँदा र मानवीय संवेदनाको बेवास्ता गर्दा महानगरको सुन्दरतामा दागमात्र लागेको छैन, नेतृत्वको अपरिवक्वता देखिएको छ ।

Sarmila Tamang