१५ चैत्र २०८०, बिहीबार

सिद्दान्त नमिल्ने पात्रहरु एउटै कित्तामा बसेर चुनाव लड्दै

localElectionAllParties

लोकतन्त्र भनेको विधि र पद्दतीसहितको राजनीतिक संस्कार पनि हो । तर संघीयतासहितको गणतन्त्रसम्म पुग्दा पनि हाम्रो राजनीतिक नेतृत्वले जसरी हुन्छ चुनाव जित्नुलाई नै सर्वोपरि मानेको छ ।

सत्ताको दाउपेचमा घुमिरहनुलाई नै लोकतन्त्र भन्ने प्रवृतिलाई आसन्न निर्वाचनको चुनावी गठजोडले पनि मलजल गरेको छ । राजनीतिक संस्कारले मेल नखाने र सिद्दान्तको छेउटुप्पो समेत नमिल्ने पात्रहरु एउटै कित्तामा बसेर चुनाव लड्दैछन् ।

एमालेको समर्थनमा उमेदवारी दिन हिँडेका कपिलवस्तुका जनता समाजवादी पार्टी जसपाका नेता सहश्रराम यादव मनोनयन स्थल निर्वाचन अधिकृतको कार्यालय पुग्दा नेपाली कांग्रेस भैसकेका थिए ।

टिकट लिएर दर्ता गर्न पुग्दा नपु्ग्दै पार्टी फेरेर अर्कोबाट उम्मेदवार बन्नु राजनीतिक संस्कार र नैतिक हिसावले आश्चर्य लाग्ने घटना हो । तर नेपालको राजनीतिमा यस्तो बारम्बार हुने गरेको छ । नत उनी त्यस्ता एक्ला पात्र हुन् ।

पञ्चायतकालदेखि राजतन्त्रका पक्षधर तथा २०६२-६३ सालको आन्दोलन दबाउन सक्रिय कमल थापा अहिले चुनावकै लागि एमालेको कित्तामा पुगे । गणतन्त्रवादी एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्ना कार्यकर्ताभन्दा राजावादी राप्रपा नेपालका अध्यक्ष कमल थापा प्यारा भए ।

एमालेकै स्थायी समिति सदस्य प्रभु साहले मनोनयनको अन्तिम समयसम्म टिकट आफूसँगै राखेर दर्ता गर्दा स्वतन्त्रबाट गरे । उनले रौतहट- एमालेको उमेदवारविहीन बनाइदिए । त्यति मात्रै हैन, चुनावी तालमेल गरेका एमाले र जसपा नागरिकता लगायत कतिपय मुद्दामा पुरै विपरित ध्रुवमा छन् ।

त्यसो त सत्ता गठबन्धन पनि त्यस्तै बहुरंगी छ। कांग्रेस,माओवादी केन्द्र र एकीकृत समाजवादी तथा संघीयता अस्वीकार गर्दै आएको राष्ट्रिय जनमोर्चा एउटै गठवन्धनमा बसेर एकले अर्कालाई जिताउन लागि पर्नु पनि कम्ति आश्चर्यको कुरा हैन् । यी कुरा राजनीतिक चरित्रभित्र पर्दैनन् । नत कहीँकतै सैद्दान्तिक साइनोले छुन्छ ।

लोकतन्त्र संस्थागत हुन नसक्नु र बारम्बार जनाधिकारमाथि हस्तक्षेप हुनुको कारण दल र नेतृत्वले सत्ता स्वार्थकै कारण विचार सिद्दान्त लत्याउनु हो । जसरी पनि चुनाव जित्नैपर्ने महत्वाकांक्षाले दलहरु नै नीति र सिद्दान्त च्यूत हुँदै गएका छन्।

दल तथा उम्मेदवारले आफ्ना योजना, सिद्दान्त र नीति लिएर चुनावमा जनता माझ जाने हो । जनमतले समेत त्यसैको प्रतिनिधित्व गर्छ । तर लोकतन्त्र संस्थागत गर्दै विधिको शासन र जनहितमा केन्द्रित हुनुपर्ने राजनीतिक नेतृत्व सत्तामुखी हुँदा विचार र नैतिकतामा विचलन सामान्य बन्दै गएको छ ।