१५ चैत्र २०८०, बिहीबार

मलाई माननीय नै हुनु थियो भने काठमाडौं बसेरै बन्ने थिए, यहाँ आउन आवश्यक थिएन : नायिका रेखा थापा

rekha

अभिनेत्री तथा मोरङ क्षेत्र नम्बर ३ बाट प्रणनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिएकी राप्रपा नेतृ रेखा थापाले आफू माननीय हुने मात्र खोजेको भए काठमाडौं बसेरै माननीय हुनसक्ने दाबी गरेकी छन् । बिहीबार सुन्दरहरैँचा ११ का मतदाता भेटघाट गर्ने क्रममा उनले यस्तो दाबी गरेकी हुन् ।

उनले भनिन् ‘ म माननीय मात्रै हुन खोजेको भए काठमाडौं बसेरै माननीय हुन पनि सक्थे । समानुपातिक र महिला कोटाको बारेमा यहाँहरूलाई अवगत नै छ । तर मैले त्यसो गरिन । किनभने मलाई मेरो यस क्षेत्रका मेरा अफन्तहरुको समस्या बुझ्नु छ, यहाँका समस्याहरूको मन्थन गर्ने छ । समाधानको विषयमा छलफल गर्नु छ । त्यसैले म तपाईँहरूसँग आएको हुँ ।’

उनले आफूले आफ्नो सर्त मात्रै हेरेको भए यो स्थानको समस्या यथावत् रहने जिकिर गरेकी छन् । उनले भनिन् ‘यो स्थान बनाउने सपना बाँडेपछि यस ठाउँको विषयमा जानकारी समेत हुनुपर्छ । मैले जानेको कुरा मेरा बहिनी, आमा बुवा दाजुभाइलाई सिकाउन चाहन्छु होला । उहाँहरूबाट केही सिक्न चाहन्छु । त्यही भएर यहाँ आएकी छु ।’

उनले महिलाहरूले कुनै पनि किसिमको भ्रष्टाचार गरेको समेत जिकिर गरेकी छन् । उनले भनिन ‘ठाउँमा पुगेका महिलाहरूले कहिल्यै भ्रष्टाचार गरेको सुन्नुभएको छ ? यो छाडौँ घर र चुल्हो सम्हाल्दा समेत महिलाहरूले इमान्दारिता देखाएका छन् ।’

नेतृ थापाले जनप्रतिनिधि भनेको जनताको साथमा हुनुपर्ने बताएकी छन् । उनले आफ्नो ५ वर्ष यस क्षेत्रको लागि दिन तयार रहेको समेत जिकिर गरेकी हुन् ।

मतदाता भेटघाटका क्रममा स्थानीय दीपक भट्टराईले आफेले विभिन्न पार्टीलाई भोट दिएर जिताए पनि समस्या यथावत् रहेकाले यस पटक रेखा थापालाई भोट दिने निर्णय गरेको बताएका छन् ।

त्यस्तै अर्का स्थानीय सन्दीप रेग्मीले रेखा थापाको जितले बेरोजगारी लगायतको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

आसन्न निर्वाचनमा मोरङ ३ मा एमालेबाट भानुभक्त ढकाल, गठबन्धनबाट सुनिल शर्मा र राप्रपाबाट रेखा थापाबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।