१५ चैत्र २०८०, बिहीबार

यी हुन् बागमती प्रदेशका रोचक भिडन्त हुने क्षेत्र

bagmati pardesh

बागमती प्रदेशका ३३ निर्वाचन क्षेत्र मध्ये १३ क्षेत्रमा रोचक भिडन्त हुँदैछ । प्रमुख दलका शीर्ष तहका नेताबीचको प्रतिस्पर्धामा यस पटक स्वतन्त्र उम्मेदवारको पनि लर्को छ । बागमती प्रदेशका मुख्यमन्त्रीदेखि कांग्रेस महामन्त्री र एमालेका वरिष्ठ उपाध्यक्षसम्म चुनावी मैदानमा छन् ।

संघीय राजधानी समेत रहेको बागमती प्रदेशका ३३ मध्ये १३ निर्वाचन क्षेत्रमा ‘हेविवेट’ नेताबीच भिडन्त हुँदै छ । यो प्रदेशमा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा देखिए पनि केही निर्वाचन क्षेत्रमा माओवादी र एकीकृत समाजवादी पनि बलियो देखिन्छ ।

यी हुन् बागमतीका रोचक भिडन्त हुने क्षेत्र

धादिङ–१ मा पाण्डे-त्रिपाठी भिडन्त
बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र एमालेका भूमि त्रिपाठीबीच रोचक भिडन्त हुँदैछ । यो क्षेत्रमा एमाले एक्लैको ३७ हजार ७७८ छ भने ८ हजार ८ सय मत रहेको समाजवादीका पाण्डेलाई २४ हजार ९ सय मत रहेको माओवादी र १९ हजार ४२३ मत रहेको कांग्रेसको साथ छ । यहाँ कमेडीयन हिमेश पन्त पनि चुनावी मैदानमा हुनुहुन्छ ।

काठमाडौं – ५ पौखरेल-पौडेल भिडन्त
स्वतन्त्र उम्मेदवारको लर्को लागेको यो क्षेत्रमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेस नेता प्रदीप पौडेलबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । राप्रपाका डाक्टर रामप्रसाद उप्रेती र रञ्जु दर्शना लगायतका स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् । एमालेसँग १९ हजार ७०३ मत छ भने सत्ता गठबन्धनसँग १७ हजार मत छ ।

काठमाडौं–१ मा सिंहलाई मिश्रको चुनौती
अघिल्लो निर्वाचनमा झिनो मतान्तरले पराजित राव्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र कांग्रेस नेता प्रकाशमानसिंहबीच मुख्य प्रतिस्पर्धा हुने ठानिएको यो क्षेत्रमा एमालेका किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम पनि चुनावी मैदानमा छन् । यस्तै सुशासन पार्टीबाट रमेश खरेल पनि मैदानमा हुनुहुन्छ । यो क्षेत्रमा प्रकाशमान लगातार जित निकाल्ने रणनीतिमा हुँदा अन्य उम्मेदवार सिंहको बिजयी यात्रा रोक्ने दाउमा छन् । यहाँ कांग्रेसको ९ हजार ८९५, एमालेको ९ हजार ५४१, राप्रपाको १ हजार ३७६ र माओवादीको १ हजार १५९ मत छ ।

काठमाडौं – ४ मा गगन–राजन दोस्रो भिडन्त
कांग्रेस महामन्त्री थापा र एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईबीच दोस्रो पटक भिडन्त हुन लागेको यो क्षेत्रमा राप्रपाका ठाकुरमोहन श्रेष्ठ र राधा पोखरेलसहित स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा छन् । लगातार दुई पटक निर्वाचित थापालाई दोस्रो भिडन्तमा पराजित गर्ने भट्टराईको रणनीति र स्वतन्त्रको लहरबाट यो क्षेत्र गुज्रने छ । निर्वाचन क्षेत्र परिवर्तनको हल्लाबीच थापा यहीबाट उम्मेदवार बन्नुभएको थियो । यो क्षेत्रमा एमालेको १६ हजार ५०७ र कांग्रेसको १५ हजार ७६३ मत छ ।

काठमाडौं–७ मा यमी-घिमिरे–मानन्धर भिडन्त
प्रचण्डलाई गोरखा २ छाडेर बाबुराम भट्टराईले छोरी मानुषी यमी भट्टराईलाई उम्मेदवार बनाएसँगै यो क्षेत्रको चर्चा छ । लगातार जित्दै आएका रामवीर मानन्धरको टिकट खोसेर श्याम घिमिरेलाई टिकट दिएसँगै एमालेमा असन्तुष्टि बढेको छ । यहाँ पूर्वमन्त्री मानन्धर स्वतन्त्र उम्मेदवार बनेका छन् ।

कांग्रेसको उम्मेदवार नरहेकाले उसको मत निर्णायक बन्ने छ । यहाँ कांग्रेसको १४ हजार १६७ र एमालेको १२ हजार २०२ मत छ । माओवादीको मत कमजोर रहेपनि भट्टराईको उम्मेदवारीले घिमिरे र मानन्धरसँग त्रिपक्षीय भिडन्त हुने अनुमान गरिएको छ ।

नुवाकोट– २ फेरि केसी–खतिवडा भिडन्त
अघिल्लो चुनावमा दश हजार बढी मतान्तरले पराजित कांग्रेस नेता अर्जुननरसिंह केसी र एमालेका निवर्तमान सांसद नारायण खतिवडाबीच दोस्रो भिडन्त हुँदैछ ।

राप्रपाका सहमहामन्त्री झनक प्याकुरेल पनि चुनावी मैदानमा हुँदा त्रिपक्षीय भिडन्त हुने अनुमान गरिएको छ । यहाँ कांग्रेसको २९ हजार ८६१ र एमालेको २६ हजार ३७७ मत छ । डा प्रकाशचन्द्र लोहनीका कारण राप्रपाको प्रभाव पनि बलियो देखिन्छ ।

भक्तपुर–२ मा महेश–दुर्लभ भिडन्त
भक्तपुर २ मा एमाले नेता महेश बस्नेत र कांग्रेस नेता दुर्लभ थापाबीचको भिडन्त पनि रोचक हुने अनुमान गरिएको छ । एमाले नेतृत्वमा बलियो पकड बनाएका बस्नेत र कांग्रेस सभापति शेरबहादुर देउवा निकट थापाबीचको भिडन्तमा नेमकिपाको मत निर्णायक बन्ने देखिन्छ । यहाँ कांग्रेसको २५ हजार ७६४ र एमाले २४ हजार २८६ मत छ । नेमकिपा र राप्रपाको समान ४र४ हजार मत छ ।

ललितपुर–१ मा फेरि सिलवाल–राणा भिडन्त
अघिल्लो निर्वाचनमा ६ हजार २ सय १७ मतान्तरले विजयी एमाले नेता नवराज सिलवाल र कांग्रेस नेता उदय शम्शेर राणाबीच दोस्रो भिडन्त हुँदै छ । स्थानीय तहको मत परिणाम अनुसार कांग्रेसको २३ हजार ८५४ र एमालेको १८ हजार ९९३ मत छ । माओवादीको समर्थन पाएका राणालाई केही सहज देखिए पनि भिडन्त रोचक हुने देखिन्छ ।

ललितपुर–३ मा भुसाललाई खड्काको चुनौती
स्थानीयलाइ प्राथमिकता भन्ने अभियान नै चलेको ललितपुर(३ मा यो पटक सत्ता गठबन्धनबाट माओवादी नेतृ पम्फा भुसाल र एमालेबाट अमृत खड्का भिड्दै छन् । हरेक निर्वाचनमा दलहरुले क्षेत्र बाहिरका उम्मेदवार व्यवस्थापनको स्थान बनाएको आरोप लाग्ने ललितपुरमा लगातार विजयी भुसाल र स्थानीय खड्काबीचको प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की पनि थपिनुभएको छ । आफ्नो मत बलियो भएपनि माओवादीलाई छाड्नुपरेको भन्दै असन्तुष्ट रहेका कांग्रेस कार्यकर्ताको मत निर्णायक हुने देखिएको छ । यहाँ कांग्रेस १८ हजार ५४५, एमालेको १७ हजार ७०९ र माओवादी ७ हजार ७२७ मत छ ।

काभ्रेपलाञ्चोक–२ मा बाँस्कोटालाई आफ्नाकै डर
एमाले नेता गोकुल बाँस्कोटाका सहयोद्धाहरु यो पटक नेकपा एसमा छन् । संगठनात्मक रुपमा बलियो रहेपनि बाँस्कोटालाई सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईँ चुनौति बन्ने देखिन्छ । यस्तै चलचित्र निर्देशक मनोज पण्डितको स्वतन्त्र उम्मेदवारीले पनि नतिजामा केही असर पार्ने छ । यहाँ एमालेको ४५ हजार ५१४ र कांग्रेसको ४५ हजार ४५६ मत छ ।

सिन्धुपाल्चोक–२ मा तामाङ–बस्नेत
सिन्धुपाल्चोक -१ मा माओवादीले टिकट पाएसँगै क्षेत्र परिवर्तन गरेका कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई पार्टीको आन्तरिक असन्तुष्टि महंगो पर्न सक्छ । यो क्षेत्रबाट लगातार विजयी एमाले नेता शेरबहादुर तामाङ चुनावी मैदानमा छन् । राप्रपाको मत समेत तामाङको पक्षमा जाने अवस्थामा बस्नेतले पार्टीमा आन्तरिक एकता र कम्युनिष्टप्रतिको खरोपनामा परिवर्तन ल्याउन नसके चुनावमा सकस हुने देखिन्छ । यहाँ एमालेको ३१ हजार ७७६, कांग्रेसको २९ हजार ३०२, माओवादीको १६ हजार ७९ र राप्रपाको ५ हजार ९३२ मत छ ।

मकवानपुर–१ मा डिना–कमलसँगै दीपकको इन्ट्रि
कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना सत्ता गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ भने राप्रपा नेपालका अध्यक्ष कमल थापा एमालेको सूर्य चिन्हबाट र राप्रपाका दीपकबहादुर सिंहबीच त्रिपक्षीय भिडन्त हुँदैछ ।

हेटौंडा उपमहानगरको मेयरमा दुई हजार मतले पराजित सिंहको लोकप्रियता डिना र थापाका लागि चुनौती हुन् । एमालेभित्रको असन्तुष्टि थापाको अर्को चुनौती हो । यहाँ एमालेको ३८ हजार ५६ र कांग्रेसको ३४ हजार ७२ मत छ ।

चितवन–१ सुरेन्द्र–विश्व भिडन्तमा राजेन्द्रको इन्ट्रि
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र कांग्रेसका विश्व पौडेलबीचको प्रतिस्पर्धामा कांग्रेसका पुराना नेता राजेन्द्र बुर्लाकोटी बागी उम्मेदवारका रुपमा इन्ट्रि हुँदा भिडन्त रोचक हुने भएको छ ।

सत्ता गठबन्धनका उम्मेदवार पौडेलप्रति कांग्रेस कार्यकर्ता असन्तुष्ट छन् । चितवन-३ मा कांग्रेसको बागीलाई सहयोग गरेको एमालेले यहाँ असन्तुष्टको मत लिने प्रयास गर्ने देखिएको छ । यहाँ एमालेको ३९ हजार ६०६ र कांग्रेसको ३६ हजार ७८३ मत छ ।

बागमती प्रदेशमा उम्मेदवारी चयनमा नेतृत्वको मनपरी

टिकट बाँडफाँटलाई लिएर प्रमुख दलभित्रै असन्तुष्टि देखिएको छ । लामो समय पार्टीमा रहेर योगदान गरेका कार्यकर्तालाई बेवास्ता गर्दै आफ्नो समूहमा लागेकालाई मात्र टिकट दिँदा धेरैले बागी उम्मेदवारी दिएका छन् । जसको परिणाम अहिले राजनीतिक दलले चुनावी योजना बनाउनभन्दा पनि बागी उम्मेदवारी फिर्ता गराउनमै समय खर्चनु परेको छ ।

लामो समय एमाले राजनीतिमा सक्रिय बसुन्धरा हुमागाईं पार्टी विभाजनपछि एकीकृत समाजवादीका काभ्रे अध्यक्ष छन् । तर गठबन्धनका कारण टिकट नपाएपछि उनले कांग्रेस उम्मेदवार कञ्चनचन्द्र बादेविरुद्ध काभ्रे-२ को ‘ख’ मा उम्मेदवारी दिएका छन् ।

त्यसैगरी, धादिङ प्रतिनिधि सभा २ मा गठबन्धनका उम्मेदवार कांग्रेस सभापति रामनाथ अधिकारीविरुद्ध निवर्तमान सभापति रमेश धमलाले बागी उम्मेदवारी दिएका छन्। यो क्षेत्रमा माओवादी नेता उत्तम कँणेल पनि मैदानमा छन् । धादिङ-१ को प्रदेश सभा ‘क’ मा एमालेका उम्मेदवार रमेश आचार्यविरुद्ध एमालेकै पूर्वजिल्ला अध्यक्ष नेत्र पौडेलले पनि उम्मेदवारी दिएका छन् ।

उता मकवानपुर-२ ‘ख’ मा पनि सत्ता गठबन्धनका उम्मेदवार इन्द्र बानियाँविरुद्ध माओवादी केन्द्रका नेता खुसीलाल चेपाङले उम्मेदवारी दिएका छन् ।

यतिबेला सत्ता गठबन्धनका केन्द्रीय नेता चुनाव जित्ने रणनीति भन्दा बागी उम्मेदवारलाई फकाइफुल्याई उम्मेदवारी फिर्ता गराउने ध्याउन्नमा छन् ।

दलहरुले नेता व्यवस्थापनमा ध्यान नदिँदा असन्तुष्टहरुले जताततै बागी उम्मेदवारी दिएका छन् । यसले आधिकारिक उम्मेदवारले पाउने मतमै प्रभाव पर्ने स्थिति देखिएको छ ।