१५ बैशाख २०८१, शनिबार

सच्याए दलहरूले समानुपातिकको बन्दसूची, कुन दलको कस्तो संशोधन ? अब के हुन्छ ?

nepal elecion commison

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीलाई दलले अन्तिम रुप दिएका छन् । निर्वाचन आयोगले दिएको समयसीमाभित्रै आज दलहरुले बन्दसूचीमा केही फेरबदल र संशोधनसहित अन्तिम रुप दिएका हुन् ।

गत असोज २ र ३ गते ४५ राजनीतिक दलले प्रतिनिधिसभामा समानुपातिकतर्फका उमेदवारको बन्दसूची बुझाएका थिए । आयोगले ती दललाई असोज १० देखि १६ गतेसम्म परिमार्जित सूची पेस गर्न समयसीमा दिएको थियो ।

सोही अनुसार आज १२ वटा दलले संशोधित सूची बुझाएका छन् । नेपाली कांग्रेस विपि, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका १२ दलका प्रतिनिधिले संशोधित सुची बुझाए । योसँगै ४५ दलले नै बन्दसूचीको काम सकेका छन् ।

यसअघि शनिबार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र , एकीकृत समाजवादी, राष्टिय प्रजातन्त्र पार्टीलगायतका ९ दललाई संशोधित सूची बुझाउन आयोगले समय तोकेको थियो । केही हेरफेरसहित दलहरुले आयोगमा सूची पेश गरिसकेका छन् ।

अब के हुन्छ ?
संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा असोज १७ गते अर्थात सोमबार बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिनसक्नेछन् । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई आयोगले जानकारी दिनेछ ।

त्यसपछि असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएका कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को उम्मेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेस गर्ने निर्वाचन कार्यक्रम छ। असोज २२ गते उम्मेदवारको बन्दसूचीमा सूचना प्रकाशन गर्ने, असोज २३ गतेदेखि २९ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यतासम्बन्धी दाबी विरोधको निवेदन दिनसकिनेछ ।

असोज ३० गते दावी विरोधको निवेदनमाथि जाँचबुझ र निर्णय लिने, आगामी कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिमरुपमा प्रकाशन गरिनेछ ।