११ बैशाख २०८१, मंगलवार

खटपट सुरु तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका पाँच दलबीच

gathabandhan

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका पाँच दलबीच खटपट सुरु भएको छ ।

गठबन्धनकै एक घटक जनता समाजवादी पार्टीले बाँडफाँटको प्रस्तावमा असन्तुष्टि जनाउँदै सत्तामा नरहेका दलहरूसँग पनि तालमेल हुन सक्ने चेतावनी दिएको छ ।

सिट बाँडफाँटको विषयलाई लिएर सत्ता गठबन्धनका २ दुई दल कांग्रेस र जसपाबीच विवाद चर्किएको छ। मधेसमा आफू बलियो रहेको यी दुवैको दाबी छ । २ हजार ७४ को निर्वाचनमा जनता समाजवादी पार्टी निर्वाचित भएको धनुषा २ र सर्लाही २ मा कांग्रेसले दाबी गरेको छ ।

अघिल्लो चुनावमा नै जसपाले जितेका पर्सा १,२ र ३ तथा सप्तरी १, २ र ३ मध्ये दुवै जिल्लाका कम्तीमा एक एक निर्वाचन क्षेत्र पनि जसपाले छाड्नुपर्ने कांग्रेसको प्रस्ताव छ। गठबन्धनको अर्को घटक माओवादी केन्द्रले पनि जसपाले जितेका केही क्षेत्रमा आँखा लगाएको छ ।

गठबन्धन बैठकमा कांग्रेसको तर्फबाट आएको प्रस्ताव र माओवादीको चाहनाले जसपा चिढिएको छ । आइतबार बसेको गठबन्धनको बैठकमा नै जसपाले असन्तुष्टि जनायो।

गठबन्धनकै विकल्प खोज्ने अवस्था आउन सक्ने उसको चेतावनी थियो । तर, बाँडफाँट मिलाउन छलफल भइरहेकाले जसपा गठबन्धनबाट भाग्न नसक्ने कांग्रेसको जवाफ छ। कांग्रेसले जसपाको असन्तुष्टिलाई घुर्कीको रुपमा पनि लिएको छ ।

दलहरूको आ आफ्नै दाबीका कारण प्रतिनिधि सभाको १ सय ६५ र प्रदेश सभाको ३ सय ३० सिट बाँडफाँटमा गठबन्धनले सहमति जुटाउन सकेको छैन ।

दाबी र सिट संख्या नमिल्दा मुख्य घटक कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपालाई बाँडफाँट मिलाउन सकस परेको छ । बाँडफाँटमा कांग्रेस माओवादी सहमति नजिक देखिए पनि एकीकृत समाजवादी र जसपालाई मिलाउन चुनौती देखिएको छ ।