११ बैशाख २०८१, मंगलवार

टीका, जमरा र आशीर्वाद

dashai

नेपालीहरुको महान् चाड बडादशैं । आज घर(घरमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिएर धुमधामका साथ मनाइँदैछ ।

घटस्थापनाको दिन पूजाकोठा तथा दशैँघरमा उमारेको पहेँलो जमरा र रातो टीका मान्यजनको हातबाट लगाएर दुर्गा भवानीको प्रसादस्वरुप आशीर्वाद थाप्ने गरिन्छ ।

जमरालाई समृद्धिको र रातो टीकालाई विजयको प्रतीकका रुपमा लिइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनटेमा रहेको छ ।

दशैंमा घरपरिवार तथा आफन्तहरुबीच भेटघाट गरेर मीठा परिकार खाने र रमाइलो गर्ने चलन छ । दशैं पर्वले काम, क्रोध, लोभ, मोह, अहंकार, हिंसा आदि त्याग्न प्रेरणा दिने विश्वास गरिन्छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दशैं पर्व मनाउने गरिएको हो । आजबाट सुरु भएको बडादशैंको टीका कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ ।