८ बैशाख २०८१, शनिबार

सर्वेसर्वा ओली : विगतका आलोचक र अहसयोगीमाथि ओलीले चलाउने भए चक्कु

KP Sharma Oli 69
फाइल फोटो

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीसँग असहमतहरुको राजनीतिक जीवन जोखिममा पर्ने भएको छ। आगामी निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउँदा विगतका आलोचक र अहसयोगीमाथि ओलीले चक्कु चलाउने भएपछि एमालेमा विवाद थप बढ्ने देखिएको छ।

नेकपा एमालेमा सौराहा महाधिवेशनपछिको परिदृष्य यहि हो । ओलीको हात जगन्नाथ । अध्यक्ष ओलीले चाहे एउटै मान्छेलाई अवसरै अवसर अनि ओलीको आलोचना गरे पुर्पुरोमा हात ।

आगामी मंसिर ४ गतेका लागि हुँदै गरेको चुनावमा टिकटका आकाँक्षीलाई पनि ओलीको तथास्तु कुर्नुपर्ने बाध्यता छ । पार्टीको सचीवालय, स्थायी समिति, पोलिट्व्यूरो र केन्द्रीय समिति भने पनि सबै समितिका सदस्यहरुको काम जम्मा दुइटा छ–अध्यक्ष ओलीको फर्मायसीमा मादल बजाउनु अनि फड्के किनाराको साक्षी बस्नु ।

एउटा राजनीतिक दल त्यसमा पनि नामकै सहि तर कम्युनिष्ट पार्टी । विचार र निर्णयमा बहस अनि कार्यान्वयनमा सर्वसहमति हुनुपर्ने हो। तर एमालेमा ओलीको फर्मान नै निर्णय र ढुंगाको अक्षर । न बहस न आलोचना गर्ने कसैको हिम्मत ।

हुनत ओलीको आलोचना गर्नेको राजनीतिक जीवनमै ह्वाट लाग्ने भएपछि आलोचना या विरोध गर्ने हिम्मत कसको ? आगामी निर्वाचनमा त झन् समानुपातिकको बन्दसूचिको नाम अन्तिम गर्ने अधिकारदेखि प्रत्यक्षमा समेत ओलीमाथि औंला उठाउनेहरुको प्वाँख काटिने भएको छ। एमालेका एक वरिष्ठ पदाधिकारीकै भाषामा विगतमा ओलीको विरोध गर्नेले टिकट पाउने छैनन्, पाए भोट पाउने छैनन् ।

आगामी निर्वाचनमा गठबन्धनसँग चुनावी लडाइमा जान तम्सिएको एमालेमा अध्यक्ष ओलीले सत्ता गुम्दाको घाउमा मलम लगाउन पार्टीभित्रका विरोधीको पनि घुँडा ताछ्ने बाटो अपनाउनु हुने भएको छ । ओली राजनीतिकरुपमा विरोधीहरुलाई खुलम्खुला खुइल्याउन माहिर मानिनुहुन्छ ।

आगामी निर्वाचनमा बन्दसूचिको अन्तिम नामावलीलाई ओलीले खल्तीको रुमाल बनाउन बैधानिक कपाली तमसुक पाइसक्नुभएको छ भने प्रत्यक्षतर्फ एमालेले टुंग्याएका १३५ सिटमा पनि आफ्ना समर्थक र नवप्रवेशीलाई टिकटको इन्तजाम गरिएको छ।

बाँकी ३० सिट राप्रपा, राप्रपा नेपाल, लोसपा लगायतका दलसँगको लेनदेनका लागि राखेका ओलीले विगतका १० भाइको भने विल्लीपाठ बनाउने देखिएको छ।

पूर्वमाओवादीदेखि नवप्रवेशीलाई सिन्दुर माला र टिकट एकैसाथ थमाउन लाग्नुभएका ओलीले १० भाइलाई भने घरको न घाटको बनाउने उहाँकै निकटतम् सहयोगीको भनाइ छ ।

ओलीको बोलीमा लोली मिलाउन अभ्यस्त ति पदाधिकारीले विगतमा पार्टी र अध्यक्षका बारेमा सार्वजनिक अभिव्यक्तिका कारण उनीहरुलाई जनताले मत नदिने भएकाले टिकट नदिन लागिएको हो ।

घनश्याम भुसालदेखि भीम रावलसम्मलाई जिल्लामै विरोधी उठाएर बिरामी र डाक्टरको भूमिका खेलेका अध्यक्ष ओलीले बाँकीलाई पनि जिल्लाबाट सर्वसम्मत् नभएको नाममा अल्झाउने र झुकाउने रणनीति लिनुभएको छ।

ओलीको रणनीति यस्तै रहे स्थानीय निर्वाचन अघि विभाजनको पिडा भोगेको एमालेले संघीय निर्वाचन अघि विद्रोहको सामना गर्ने अवश्यम्भावी छ।