१५ चैत्र २०८०, बिहीबार

डिन थम्पसन नियुक्त नेपालका लागि नयाँ अमेरिकी राजदुतमा, यस्तो प्रतिवद्धता जनाए

Dean

नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन् ।

उनी र्यान्डी बेरीकाे स्थानमा आउन लागेका हुन् । उनले शुक्रबार वासिङ्टन डिसीमा शपथ ग्रहण गरे ।

अमेरिकी बिदेश मन्त्रालयका अनुसार थम्प्सन नियुक्ती भएसँगै आफनो चार वर्ष कार्यकाल पूरा गरी र्‍यान्डी बेरी भने आइतबार स्वदेश फर्कँदै छन् । थम्प्सन कहिले नेपाल आउने हो ? त्यो भने टुंगो लागेको छैन ।

काठमाडौं स्थित अमेरिकी दूतावासका अनुसार नव नियुक्त राजदुत थम्प्सन केही दिनमा काठमाडौं आउने छन् ।

अमेरिकी सिनेटको समितिमा ‘नेपाल-चीनसम्बन्ध’बारे चर्चा

राजदूतमा आफ्नो नियुक्ती स्वीकृत भएको खण्डमा आफूले दलित, सिमान्तकृत समुदाय लगायतका नेपाली नागरिक र बासिन्दाको अधिकारको लागि जोड दिने नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन टम्पसनले बताएका छन् ।

बुधबार सिनेटको वैदेशिक सम्बन्ध समितिमा भएको सुनुवाईमा आफ्नो बयान दिदै उनले नेपालमा रहेका तिब्बती शरणार्थीहरू, दलित, सीमान्तकृत समुदाय र शरणार्थी समुदायहरूसहित नेपाली नागरिक र नेपालबासीको अधिकारमा जोड दिने बताएका छन् ।

नेपाल सरकारलाई अर्थपूर्ण समावेशी, आर्थिक अवसर र मानवीय सहयोगलाई प्रवर्द्धन गर्ने नीतिहरू कार्यान्वयन गर्न प्रोत्साहन गर्ने उनले बताए ।

उनले भने – ‘हामी नेपालसँगको सम्बन्धको महत्वपूर्ण मोडमा छौं। नेपाललाई ‘दुई ढुङ्गा बीचको तरुल’ भनिन्छ, ती ढुङ्गा चीन र भारत हुन् ।

ती देशहरूको नेपालसँग महत्वपूर्ण सम्बन्ध रहेको भएतापनि हामी नेपालको सार्वभौमसत्ता र संयुक्त राज्य अमेरिकासँगको साझेदारीलाई सुदृढ गर्नमा नेपालको चासो राख्छौं।’

यदि आफ्नो नियुक्ती सदर भएमा नेपालको आर्थिक वृद्धिलाई सहज बनाउनु र हाम्रा देशहरूबीचको व्यापारिक सम्बन्धलाई सुदृढ गर्नु मुख्य प्राथमिकता दिने उनले बताए ।

अफवाह फैलाउने चीनको अभियानका बाबजुत नेपालले ५ सय मिलियन डलरको एमसीसी पारित गरेको उल्लेख गर्दै उनले भने – ‘यो आयोजनाले नेपालको स्वच्छ, प्रचुर मात्रामा जलविद्युतलाई दक्षिण एसियाको ऊर्जा ग्रिडसँग जोड्न विद्युत प्रसारण लाइन निर्माण गर्नेछ । नेपालमा पनि गुणस्तरीय सडक निर्माण गर्नेछ । यी परियोजनाहरूले हाम्रा दुवै देशको समृद्धिमा वृद्धि गर्नेछन्।’

युएसएआईडीले आगामी पाँच वर्षमा नेपालको विकासमा योगदान पुर्‍याउन नेपालसँग ६५९ मिलियनको सम्झौतामा हस्ताक्षर गरेको गर्दै उनले यो नेपालसँग संयुक्त राज्य सरकारको लामो समयदेखिको विकास सम्बन्धको नयाँ अध्याय भएको बताए ।

राष्ट्रपति बाइडेनले लोकतन्त्रको शिखर सम्मेलनमा गरेको प्रतिबद्धतामा नेपालको प्रगतिले नेपालको युवा लोकतन्त्र आफ्ना जनताका लागि कत्तिको महत्त्वपूर्ण छ र यसले संयुक्त राज्य अमेरिकासँगको सम्बन्धमा कत्तिको महत्त्व राख्छ भन्ने देखाउने टम्पसनले बताए ।

संयुक्त राष्ट्र संघको महासभा र संयुक्त राष्ट्र मानवअधिकार परिषदमा युक्रेनको प्रस्तावमा नेपालको समर्थनले अन्तर्राष्ट्रिय नियममा आधारित व्यवस्था र क्षेत्रीय अखण्डताको आधारमा अगाडि बढ्न नेपाल प्रतिवद्ध रहेको देखायने उनले बताए । उनले भने नेपाल विश्व मञ्चमा प्रतिबद्ध द्विपक्षीय साझेदार र प्रतिबद्ध साझेदार हो।

राजदूत नियुक्त भएमा आफूले नेपालको लोकतान्त्रिक संस्थालाई बलियो बनाउन काम गर्ने उनले बताए । नेपाल र अमेरिकाबीचको सम्बन्ध सुदृढ गर्न यो महत्वपूर्ण अवशर हुने उनले बताए ।

उनले भने – ‘१६ वर्षअघिको गृहयुद्धपछि नेपालले लामो यात्रा तय गरेको छ । अन्य लोकतन्त्र जस्तै नेपालको राजनीति पनि कहिलेकाहीं विवादित र अव्यवस्थित हुन सक्छ, तर नेपालको लोकतन्त्रलाई समर्थन गर्नु हाम्रो हितमा छ र राजदूत नियुक्त भएमा यो मेरो प्राथमिकता रहनेछ।’

सिनेटको सुनुवाईमा सिनेटर क्रिस भ्यान होलेनले टम्पसनको पृष्ठभूमिसहित परिचय दिएका थिए भने सिनेटर ब्रायन शाट्सले नेपालका लागि अमेरिकी राजदूतका लागि टम्पसन योग्य रहेको बताएका थिए । यदि राजदूत नियुक्त भएमा टम्पसनले अमेरिका र नेपालबीचको सम्बन्धको महत्वपूर्ण समयमा सेवा गर्ने शाट्सले बताए ।

रसियन हस्तक्षेपको निन्दा गर्नेमा नेपाल उक्त क्षेत्रका केही देशहरुमध्ये रहेको उल्लेख गर्दै शाट्सले यसैबर्षको सुरुमा आफ्नो देशमा अमेरिकाको प्रभावबारे चासो राखेका नेपालीहरुले विरोध प्रदर्शनका बाबुजत नेपालको संसदले ५ सय मिलियन डलरको एमसीसी पारित गरेको सन्दर्भ पनि उल्लेख गरे ।

चीनिया सरकारको हौवा अभियानपछि गत महिना नेपालको सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राममा सहभागिता रद्द गरेको पृष्ठभूमि समेत शाट्सले उल्लेख गरे । यस्तो परिदृश्यमा वर्तमान अवस्थाको सही मूल्यांकन गर्नमा नयाँ राजदूतको भूमिका महत्वपूर्ण हुने उनले बताए । नयाँ राजदूतले नेपाललाई अमेरिका सहयोगी भएको कुरा सुनिश्चित गर्नुपर्ने शाट्सले बताए ।

सिनेटर मिट रोम्नीले अमेरिका चीनको विकल्प हुनसक्छ र अमेरिका नै चाहिन्छ भन्ने सन्देश कसरी दिनुहुन्छ? भन्ने प्रश्न सोधेका थिए । यसको जवाफ प्रस्तावित राजदूत टम्पसनले चलाखीपूर्वका दिएका थिए । अमेरिका सधै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, नेपालको समृद्धिका पक्षमा रहेको र आफ्नो भविश्यका बारेमा आफै निर्णय गर्नसक्ने नेपालको क्षमताको पक्षमा आफू रहेको सन्देश दिने टम्पसनले बताए ।

सिनेटर कोरी बुकरले हालैको आफ्नो नेपाल भ्रमणको चर्चा गरे । आफूले कहिले पनि हिमाल नदेखेको र नेपाल भ्रमणका क्रममा नेपाल र नेपलीप्रतिको माया अझ बढेको उनले बताए । नेपाल भ्रमणमा आफू निकै भावुक भएको र नेपाल जलवायु परिवर्तनबाट पीडित विश्वका टप ५ देशमध्ये एउटा रहेको उल्लेख गरेका थिए ।

सिनेटर बुकरले भारत र चीनबीचको सम्बन्धलाई सन्तुलनमा गाह्रो भइरहेको र चीनको प्रभाव नेपालमा उल्लेख्य रहेको बताए । चीनले अफवाहहरु फैलाएर अमेरिकासँगको नेपालको आर्थिक सम्बन्धलाई कमजोर पार्न खोजेपनि नेपालले अमेरिकासँगको सम्बन्ध पनि गहिरो बनाउन चाहेको उनले बताए । यो अवस्थामा तपाईको भूमिका के हुनेछ ? भनेर बुकरले प्रश्न गरेका थिए ।

जवाफमा टम्पसनले कोरी बुकरबाट उल्लेख भएका विषयहरु यो नेपालका लागि निकै महत्वपूर्ण भएको बताएका थिए । युएससीआईएडी लगायतबाट सम्बन्ध गहिरो बनाउन लागिपर्ने र नेपालसँग जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने उनले प्रतिवद्धता जनाए ।

२५ वर्ष अमेरिकी परराष्ट्र सेवामा बिताएका थम्पसनले यस अगाडि अमेरिकी विदेश मन्त्रालयमा दक्षिण तथा मध्य एसियाली मामिलामा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीका रूपमा काम गरेका छन् । सन् २०२० देखि सन् २०२१ सम्म उनले यो क्षेत्रका लागि कार्यवाहक असिस्टेन्ट सेक्रेटरीका रुमा काम गरेका थिए ।

त्यसअघि टम्पसन मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुख रहेका थिए । रोमानियास्थित अमेरिकी दूतावासमा पनि काम गरेका उनले कलकत्तामा अमेरिकी महावाणिज्यदूतका रूपमा काम गरेका थिए। उनले अमेरिकी विदेश मन्त्रालयको सचिवालय, अपरेसन सेन्टरलगायत विभिन्न ठाउँमा काम गरेका छन्।

मेरिल्यान्ड स्कुल अफ पब्लिक अफेयर्सबाट सार्वजनिक व्यवस्थापनमा एमए गरेका थम्पसनले नेसनल वार कलेजबाट राष्ट्रिय सुरक्षा रणनीतिमा एमएस गरेका छन्। उनले स्प्रींगफिल्ड ओहायोको विटेनबर्ग युनिभर्सिटीबाट बीए गरेका थिए ।

    सम्बन्धित समाचार...